वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) पर्साको आयोजनामा ‘सातौँ प्याब्सन इन्टर स्कूल टी-२० नकआउट क्रिकेट टुर्नामेन्ट, २०७९’ आयोजना हुने भएको छ । अघिल्लो वर्षहरु झैँ यस वर्षपनि प्याब्सन पर्साले खेलका माध्यमबाट विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सङ्गठनसँग आबद्ध विद्यालयका विच क्रिकेट प्रतियोगिता आयोजनालाई निरन्तरता दिएको हो । कोभिड-१९ महामारीकाकारण विगत दुई वर्षदेखि प्रतीयोगीता आयोजना गर्न नसकिएको बताउँदै शिक्षासँगसँगै अन्य क्रियाकलापमा पनि विद्यार्थीहरुको सहभागिता बढाउँन र क्रिकेट खेलाडीलाई बढीभन्दा बढी एक्सपोजर दिन यस वर्षदेखि पुन: प्रतियोगितालाई निरन्तरता दिइएको प्याब्सन पर्साले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ । प्रतियोगिता आगामी माघ ५ गतेदेखि १४ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा हुने प्याब्सन पर्साका प्रवक्ता अशोक सङ्ग्रौलाले जानकारी दिए ।
बिहान साढे ९ बजेदेखि दैनिक दुईदेखि तिनवटासम्म खेलहरु हुने प्रवक्ता सङ्ग्रौला संग्रौलाले बताए । प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध २५ वटा विद्यालयले सहभागिता रहने सङ्गठनका अध्यक्ष पुरण प्रधानले बताए । प्रतियोगितामा माउन्ट एडमण्ड सेकेण्डरी स्कूल, मास्कोट एकेडमी, मनकामना सेकेण्डरी स्कूल, एमईएस, विकन स्कूल, मिनील्याण्ड सेकेण्डरी स्कूल, आदर्श सेकेण्डरी स्कूल, मूनलाइट सेकेण्डरी स्कूल, गौतम सेकेण्डरी स्कूल, विद्या सागर सेकेण्डरी स्कूल, साउथजोन सेकेण्डरी स्कूल, जीवन ज्योति सेकेण्डरी स्कूल, न्यू वेभ सेकेण्डरी स्कूल, कञ्चनजङ्गा सेकेण्डरी स्कूल, हिमालयन सेकेण्डरी स्कूल, सेन्टजेभियर्स सेकेण्डरी स्कूल, सनलाईट सेकेण्डरी स्कूल, ज्ञानज्योति सेकेण्डरी स्कूल, चिल्ड्रेन वर्ल्ड स्कूल, ज्ञानदा एकेडमी, लिटिल एन्जल्स, गोल्डेन फ्युचर सेकेण्डरी स्कूल, ओम न्याशनल स्कूल, सिद्धार्थ स्कूल र अल्पाइन स्कूल सहभागी रहने अध्यक्ष प्रधानले जानकारी गराए ।
प्रतियोगिताअन्तर्गत क्वाटर फाइनल भन्दा अगाडिका खेलहरु १५ ओभरका हुने र क्वाटर फाइनल पश्चातका खेलहरु २० ओभरका हुने कार्यक्रमका संयोजक सूरज पटेलले जानकारी दिए । पटेलले प्रतियोगिता हेर्न कुनै शूल्क नलाग्ने, राष्ट्रिय स्तरका खेलहरुमा सहभागी अम्पायरहरुको निरक्षणमा प्रतियोगिताहरु सम्पन्न हुने बताए । उनले खेलाडीहरुका लागि दैनिक खाजाको व्यवस्था, एम्बुलेन्स र आपतकालीन स्वास्थ्य उपचारको व्यवस्थापन पनि गरिएको बताए । उदघाटन खेलको वीरगञ्जका मेयर राजेशमान सिंहले उदघाटन गर्ने प्याब्सनका प्रवक्ता सङ्ग्रौलाले जानकारी दिए । उदघाटन खेल पूर्व मार्चपास प्रतियोगिता पनि आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगिताको विजेतालाई तथा उपविजेतालाई आकर्षक शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्थापन गरिएको पनि सङ्ग्रौलाले बताए ।