वीरगञ्ज । नेशनल ईन्फोटेक क्रिकेट कपको उपाधी आयोजक नेशनल इन्फोटेक कलेजले हात पारेको छ । रोचक प्रतिस्पर्धाका बिच ग्लोबल बिजनेस कलेजलाई ३ विकेटले पराजित गर्दै एन आई कलेजले उपाधि जितेको हो ।
नारायणी क्रिकेट रंगशालामा पुस १६ गतदेखि जारी एन आई क्रिकेट कपअन्तर्गत आजको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजले निर्धारित २०ओभरमा सबै बिकेट गुमाएर १ सय ८ रनको योगफल तयार पारेको थियो ।
ग्लोबलका लागि सोनु कुमार लोहार र सिकन्द्र कुमार साहले उत्कृष्ट प्रदर्शन गरे । सोनुले २१ बलमा ३ चौका प्रहार गर्दै २२ रन बनाए भने सिकन्द्रले २३ बलको सामना गर्दै ३ चौकाको मद्दतमा २१ रन बनाए ।
बलीङतर्फ नेशनल ईन्फोटेक कलेजका शेराजुल आलमले ४ विकेट लिए । ४ ओभरमा १ मेडन ओभर बनाएर १० रन खर्चिदै आलमले ४ विकेट लिँदा रन्जित कुमार, सोनु कुशवाह र शेख अबुबकरले १/१ विकेट लिए ।
नेशनल ईन्फोटेक कलेजले २० ओभरमा ७ विकेटकै क्षतिमा १ सय ९ रनको लक्ष्य भेटाउन सफल भयो । नेशनल इन्फोटेक कलेजका लागि राहुल हकले उत्कृष्ट प्रदर्शन गर्दै ३ चौकाको मद्दतमा ३९ रन बनाए । शेराजूल आलमले २ चौका र २ छक्का प्रहार गर्दै १६ बलमा २९ रन जोडे ।
ग्लोबलका सोनु कुमार लोहारले ४ ओभरमा १ मेडन ओभर बनाउँदै १७ रन खर्चिएर २ विकेट लिए । विराज कुमार आलेले पनि २ विकेट लिए भने रोशन कुमार साह र रोहन यादवले १/१ विकेट लिए ।
प्रतियोगितामा नेशनल इन्फोटेक कलेजका शेराजुल आलम प्लेयर अफ दी म्याच घोषित भएको नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक ई. मनिष सिँहले जानकारी दिए ।