रौतहट । रौतहटको चन्द्रपुरमा कुटपिट गरी एक वृद्धको हत्या गरेको अभियोगमा एकै परिवारका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ पैनी टोल बस्ने ७७ वर्षीय राम गोपाल घिमिरेको हत्या गरेको अभियोगमा चन्द्रपुर–५ बस्ने रामचन्द्र चौधरी, उनकी श्रीमती प्रमिला चौधरी र छोरा अजय चौधरी रहेका छन् ।
चौधरी दम्पत्तीले पालेको बंगुरको फोहोर गत साउन २८ गते घर अगाडि फालेको विषयलाई लिएर घिमिरे र चौधरी दम्पत्तीबीच विवाद भएको थियो ।विवादको क्रममा प्रमिला र उनका छोरा अजय मिलेर कुटपिट गरी घिमिरेलाई घाइते बनाएका थिए । घाइते घिमिरे उपचारपछि घर फर्किएका थिए ।
तर, आइतबार उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा उपचारको क्रममा घिमिरेको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले बताए । घिमिरेको हत्यामा संलग्न रहेका चौधरी दम्पत्ती र उनका छोरा अजयलाई पक्राउ गरी अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रियाअघि बढाइएको मल्लले बताए ।