हरिप्रसाद प्रधानका पूर्वज कसजुहरू भक्तपुरबाट भोजपुर हुँदै त्यसबेलाको स्वतन्त्र राज्य सिक्किम बसाइँ सरेका थिए । दार्जीलिङ र सिक्किमतिर नेवारहरू आफ्नो पैतृक थरभन्दा प्रधान लेख्न रुचाउने भएबाट दक्षिण सिक्किमको रातेपानीमा बसोबास गरेका र राजाबाट जिमदारी (ठेकेदारी) पाएका उनका पूर्वजले पनि प्रधान थर धारण गरेका हुन । (जनकलाल शर्मा, निर्भीक न्यायमूर्ति हरिप्रसाद प्रधान, न्याय, भाग ५, ज्ञानगुन कानुन प्रतिष्ठान, काठमाडौं, २०५४ ।)
जनकलाल शर्माका अनुसार, एम.ए.बी.एल.को उपाधि हरिप्रसाद प्रधानले हासिल गरेका थिए । भारत, दार्जीलिङका स्थायी बासिन्दा भए पनि उनको विवाह भने नेपालका पद्मसुन्दर मल्लको परिवारमा भएको थियो । काठमाडौं बागबजारका मल्ल परिवार राणाहरूलाई नसोधी इन्जिनियरिङ पढन जापान गएबाट सजाय स्वरुप काठमाडौंबाट निष्काशनमा परी बिराटनगर बसाइँ सरेको परिवार हो ।
हरिप्रसाद प्रधान दार्जीलिङमा कानुन व्यवसाय गर्दथे । नेपालको प्रधानन्यायाधीशमा नियुक्ति भएपछि २००८ साउन ३१ गतेको गोरखापत्रमा प्रकाशित उनको जीवनीअनुसार सन् १९२४ मा भारत सरकारद्वारा राय साहेबको उपाधि, सिक्किमको अपील सुन्ने अदालतको प्रमुख, सन् १९३० देखि १९४२ सम्म भुटान दरबारको सल्लाहकार र १९५० मा सिक्किमको काउन्सिलर उनी थिए । विराटनगर निवासी पद्मसुन्दर मल्लको सिफारिसमा बी.पी. कोइराला पनि कानुन स्नातक भएपछि कानुन व्यवसाय गर्न हरिप्रसाद प्रधानकहाँ गएका हुन् । स्व. प्रधानबाट उनी अत्यन्त प्रभावित भएको देखिन्छ । बी.पी. हरिप्रसाद प्रधानकै घरमा बस्दथे । त्यहीँ काम गर्ने अर्का वकील रूपनारायण सिंह प्रधानबाट आफूले साहित्य सिकेको बी.पी.ले सकारेका छन् । (सं. गणेशराज शर्मा, विश्वेरप्रसाद कोइरालाको आत्मवृत्तान्त, जगदम्बा प्रकाशन, ललितपुर, २०५५ ।)
बी.पी. कानुन व्यवसाय छाडेर बनारसतिर लागे । तर, २००७ सालको परिवर्तनका मुख्य नायक बी.पी.ले आफू गृहमन्त्री भएपछि ‘न्याय व्यवस्था सुदृढीकरण गर्न र सुधार गर्न’ हरिप्रसाद प्रधानलाई नेपाल बोलाए । सायद श्रीमतीको दबाब पनि पर्यो होला स्व.प्रधानलाई । उनी श्रीमती र दुई छोरासहित २००८ सालको आरम्भमा काठमाडौँ आए । २००८ साल साउन २६ गते प्रधान न्यायाधीशका रूपमा उनले शपथग्रहण गरेको कुरा २००८ साल साउन २९ गतेको गोरखापत्रमा प्रकाशित छ ।
सफल कानुन व्यवसायी र अंग्रेजहरूसँगको सहवास– यिनै कारण हुन् हरिप्रसाद प्रधानलाई ‘हरिप्रसाद प्रधान’ बनाउनमा । उनी २००८ मा यहाँ नआइदिएको भए सायद नेपालको कानुनी प्रणालीले अर्कै मोड लिन्थ्यो होला । त्यसो भएको भए निश्चितै थियो– हामी आज न्यायिक संस्कार र अभ्यासमा धेरै नै पछाडि हुन्थ्यौं । यस सन्दर्भमा योग्य नेपाली हुँदाहुँदै आफूलाई सजिलो पार्न आफूले चिनेको व्यक्ति ल्यायो भनेर बीपीका आलोचकहरूले त्यस बेला भनेको भए पनि उचित व्यक्तिको कदर गर्न सक्ने र प्रतिभाको परख गर्न सक्ने बी.पी. कोइरालाको योगदान पनि स्मरणयोग्य छ । राणाहरूसँग हरिप्रसाद प्रधानको सम्बन्ध कानुन व्यवसाय शुल्क लिएर गरिने व्यावसायिक काम हो । यसै सिलसिलामा उनको बहादुरशमशेरसँग सम्बन्ध गाँसियो । त्यसैले २००७ सालको आन्दोलनमा पनि हरिप्रसाद प्रधानको नाम जोडिएको छ ।
१९९३ जेठ २० गते टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्माद्वारा राणा शासनविरुद्ध संघर्ष गर्ने उद्देश्यले नेपाल प्रजा परिषद् गठन भयो । आफ्नो लक्ष्य प्राप्तितर्फ प्रजा परिषद् सक्रियरूपमा अगाडि बढ्यो । यसै क्रममा भारतबाट प्रकाशित हुने पत्रपत्रिकामा राणा शासनविरुद्धका लेख तथा अन्य सामग्री प्रकाशित गरेर जनमत बनाउने निधो गरियो । पटनाबाट प्रत्येक मंगलबार प्रकाशित हुने ‘जनता’ ले प्रजा परिषद्लाई साथ दियो । यस पत्रिकाले ‘नेपाल की चिठी’ भन्ने स्थायी स्तम्भ चलायो । जनताको सन् १९३८ जून २० तदनुसार १९९५ असारको अङ्कमा प्रजा परिषद्का तर्फबाट नेपालसम्बन्धी पहिलो लेख प्रकाशित भयो । दशरथ चन्दले सेवा सिंहको उपनामबाट लेखेको यस लेखको शीर्षक ‘नेपाल में राणाओं द्वारा जनता का शोषण’ भन्ने थियो ।
‘नेपाली की वर्तमान हालत’ शीर्षकबाट १ सेप्टेम्बर १९३८ को अङ्कमा ‘सुशील’ को यस्तै सनसनीपूर्ण लेख प्रकाशित भयो । ‘सुशील’ उपनामधारी व्यक्ति पनि अरु कोही होइन दशरथ चन्द नै थिए । ‘जनता’ मा राणाहरूका अत्याचार तथा शोषणका नमूनाहरू, नेपाली जनताको दुरावस्था र राजदरबारमाथि राणाहरूले गरेका अन्यायका खबरहरू ‘जनता’ ले निरन्तर प्रकाशित गर्न थाल्यो । यसबाट भारतमा रहेका नेपालीहरूमा विद्रोहको सञ्चार हुन थाल्यो । फलस्वरूप भारतीयहरूको सहयोग र समर्थन विद्रोहीहरूलाई जुटन थाल्यो ।
‘जनता’ को यो अभियानलाई कोलकाताबाट निस्कने अंग्रेजी भाषाको ‘एडभान्स’ र हिन्दी भाषाको ‘नयाँ हिन्दूस्थान’ भन्ने पत्रिकाले पनि साथ दिन थाले । खासगरी ‘जनता’ राणाहरूका विरुद्ध आतङ्क बनेर आयो ।
राणा शासन साँच्चै भयभीत भएर अंग्रेज शासकहरूलाई गुहार्न थाल्यो । ‘नेपाल की वर्तमान हालत’ भन्ने लेख प्रकाशित ‘जनता’ अंग्रेज सरकारले जफत गर्यो । यो कुरा बढो खुशीका साथ १९९५ साल कार्तिक ५ गतेको गोरखापत्रमा प्रकाशित भयो । उता ३ सेप्टेम्बर १९३८ को ‘नव भारत टाइम्स’ ले त्यो लेखबाट नेपालका प्रधान मन्त्रीको मानहानी भएको सरकारी टिप्पणी पनि छाप्यो । तर ‘जनता’ हतोत्साहित भएन । केही नलागेर बहादुरशमशेर पटना गई ‘जनता’ का सम्पादक रामवृक्ष बेनीपुरीलाई आफ्नो पक्षमा पार्न १९९५ सालको भा.रु. ५० हजार घूस दिने प्रस्ताव राखियो । तर, सम्पादक बेनीपुरीले यो प्रस्ताव लत्याएका मात्र होइनन्, ८ डिसेम्बर १९३८ को ‘जनता’ मा यो खबर छापिदिए । यो खबरको शीर्षक थियो, ‘प्रभुओं के लिए लाखौँ रूपैयाँ फूके जाते हैं, हिन्दूस्थानी अखबारोंको घूस दिया जाता है ।’
यो समाचार प्रकाशनपछि ‘जनता’ पुनः जफत गरियो । २६ डिसेम्बर १९३८ मा प्रेसमा छापा मारियो । २९ डिसेम्बरको अङ्कमा जतिसुकै दमन गरे पनि राणा सरकार र ब्रिटिश सरकारलाई नेपालमा प्रजातान्त्रिक आन्दोलन सफल भएरै छाड्ने भनेर ‘जनता’ ले हाँक दियो । ‘जनता’ पछि हटेन, झन–झन प्रखर बनेर आयो । यसपछि जुद्धशमशेरले अंग्रेज शासकलाई पत्राचार गर्न लगाए । छोरा बहादुरशमशेरलाई वार्ता गर्न लगाए । सम्बन्ध बिग्रने धम्की पनि दिए । ४ जनवरी, १९३९ मा बेगरी शिकार क्याम्पबाट राजदूत लेफ्टीनेन्ट कर्णेल बेन्थमलाई पत्र लेखे । १३ जूलाई १९३९ मा सचिव म्याटकाल्फलाई पत्र लेखे ।
जे जति गरे पनि ‘जनता’ अगाडि बढी नै रह्यो, नेपाली जनताको साँचो मित्र बनी नै रह्यो । यसले भारतीय आन्दोलनकारी, लेखक र विद्वानहरूको ध्यान खिच्यो । भारतीयहरू नेपालको भ्रमण गरी स्थिति बुझी लेख्न र बोल्न थाले । यस सन्दर्भमा ६ जूलाई १९३९ को ‘जनता’ मा कम्युनिष्ट नेता सजद जहीरद्वारा लेखिएको ‘व्यभिचारी राणाओं का नेपाल’ उल्लेखनीय छ ।
राणा शासन अन्तर्राष्ट्रिय जगतमा समेत आलोचित हुन पुग्यो । नेपालभित्र पनि ‘जनता’ निकै चर्चित भयो । यसका साथै नेपालका बारेमा लेख्ने अरु पत्रिका पनि चर्चित हुन थाले । पारि सीमाका बजारमा पत्रिका किन्न र पढ्न नेपालीहरू पुग्न थाले ।
नेपाल सरकारको कडा विरोधका कारणले जुद्धशमशेरको १३ जूलाई १९३९ को पत्रको जवाफमा भारत सरकारका सचिव अबुरेई म्याटकाल्फले ‘जनता’ लाई वैदेशिक सम्बन्धसम्बन्धी ऐनका आधारमा सूचना दिए र प्रतिकूल खबर छापे नेपालस्थित ब्रिटिश राजदूत कर्णेल बेन्थमलाई जानकारी दिन २२ जूलाई १९३९ मा नेपाल सरकारलाई पत्र लेखे ।
‘जनता’ साप्ताहिकमा के छापियो र अन्य पत्रिकामा के छापियो यो जानकारी लिन राणा शासकहरूका निमित्त अत्यावश्यक भयो । यही कामका निमित्त हरिप्रसाद प्रधानको प्रवेश भयो । उनी त्यसबेला दार्जीलिङ स्थित हिलम्यान्स् एशोसिएशनका अध्यक्ष थिए । (डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजापरिषद्को भूमिका, राजेश गौतम, काठमाडौं, २०४६ ।)
हरिप्रसाद प्रधानको चर्चापूर्व नेपालको २००७ साल पहिलेको प्रजातान्त्रिक आन्दोलनको एउटा सारथी ‘जनता साप्ताहिक’को अवसानप्रति दुःख र सम्पादक रामवृक्ष बेनीपुरीप्रति श्रद्धासुमन अर्पण गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । दुर्भाग्य ! यस कुराको खासै चर्चा हुँदैन र बेनीपुरीका विषयमा खास खोजबीन भएको पनि छैन् । त्यसबेला विश्वयुद्धको वातावरण थियो । युद्ध विरोधी पर्चा छापेको बनावटी आरोपमा सम्पादक बेनीपुरीलाई ४ मई १९४० मा पक्राउ गरी १ वर्षको कडा कैदको सजाय दिइयो । ‘जनता’ बन्द भयो । १९९७ साल जेठ ११ गते गोरखापत्रमा बढो उल्लासका साथ यो खबर प्रकाशित भयो ।
‘जनता’ मा प्रकाशित लेखको अंग्रेजी अनुवाद गर्ने र तदसम्बन्धी जाहेरी राणा सरकार र अंग्रेज सरकारसमक्ष पठाउने जिम्मेवारी हरिप्रसाद प्रधानले स्वीकारेका थिए ।
परराष्ट्र मन्त्रालयमा पहिलेका मुन्सिखानाका कागजात सुरक्षित छन् । ती कागजात आफ्नो विद्यावारिधिको शोध गर्ने क्रममा डा. राजेश गौतमले पोका नं. १६१ मा रहेका हरिप्रसाद प्रधानका केही जाहेरीहरू सारी आफ्नो पुस्तकको परिशिष्ट १०, ११ र १५ पृष्ठ ३७९–३८३ र ३८८ मा समावेश गरेका छन् ।
मैले यहाँ जनता साप्ताहिकसँग सम्बन्धित जे जति तथ्य उल्लेख गरेको छु ती सबै डा. राजेश गौतमको उक्त पुस्तककै पृष्ठ ८८ देखि ११० सम्म लेखिएका कुरामा आधारित छन् ।
हरिप्रसाद प्रधानले लेखेका पत्रहरू आफैँ बोल्दछन् । पत्रका साथ संलग्न समाचार वा लेखका अंग्रेजी अनुवाद पनि पुस्तकमा समावेश छन् । समाचार वा लेखको अनुवाद पनि हरिप्रसाद प्रधानबाटै भएको हो । जाहेरीहरू क्रमशः ६ जूलाई, २२ जूलाई र १० अगष्ट १९३९ का हुन् । यिनका अतिरिक्त अरु जाहेरी तथा पत्राचार मुन्सिखानाका कागजातका अन्य पोकामा हुन सक्दछन् । मुन्सिखाना त्यसबेलाको परराष्ट्र मन्त्रालय हो । त्यहाँ परराष्ट्रसम्बन्धी पत्राचार र प्रतिवेदनहरू मात्र रहनु स्वाभाविक हो ।
हरिप्रसाद प्रधानको पेशा कानुन व्यवसाय पारिश्रमिक लिएर पक्षको काम गर्ने पेशा हो । हरिप्रसाद प्रधान नेपालको न्यायिक इतिहासको एउटा अमर पाटो हो । हरिप्रसाद प्रधान हाम्रो न्यायिक जगतका लागि परिचयको आवश्यकता नपर्ने नाम हो । मानिसको जीवनमा आरोह र अवरोह आउँछन् । विगत हुन्छ वर्तमान पनि हुन्छ । वर्तमानको आधारमा नै मानिसको मूल्याङ्कन हुने हो । यहाँ चर्चा गरिएका कुरा पूर्वप्रधान न्यायाधीश हरिप्रसाद प्रधानको विगत हो । उनको विगत भने एउटा कानुन व्यवसायीका रूपमा स्थापित थियो ।
ठूलो मान्छेको सानो काम पनि मूल्याङ्कनको विषय बन्छ । हरिप्रसाद प्रधानबाहेक अरु कुनै वकीलले यो काम गरेको भए सायद कुनै चर्चाको विषय हुँदैनथ्यो । तर, यी पत्र वा अन्य खोजिन बाँकी पत्रहरूले हरिप्रसाद प्रधानले नेपालको न्यायिक जगत्मा दिएको योगदानलाई न्यून भने बनाउँदैनन् । डा. गौतमको उक्त पुस्तकमा संग्रहित सामग्री अध्ययन गर्दा नेपालका मै हुँ भन्ने धेरै व्यक्तिको पोल खोल्ने चीज परराष्ट्र मन्त्रालयमा आज पनि सुरक्षित छन् । एउटै कुरा इतिहास नष्ट हुन दिनु हुँदैन । सार्वजनिक व्यक्तिका असल र कमजोर पक्ष दुवै इतिहासमा लेखबद्ध हुनुपर्दछ । कमजोर वा नकारात्मक पक्षका अगाडि असल पक्ष बलवान् छन् भने ती ओझेलमा पर्दछन् ।
हरिप्रसाद प्रधानले ‘जनता’का लेख र खबरहरू जाहेर गर्ने कार्य स्वीकार्नुका पछाडि साला पद्मसुन्दर मल्ललाई पतीया दिलाउनु त थिएन भन्ने आशंका गर्न सकिन्छ । यस विषयमा पनि अनुसन्धानका लागि प्रशस्त ठाउँ छ ।
हरिप्रसाद प्रधानका साला पद्मसुन्दर मल्ल राणाहरूको अनुमति नलिई इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न जापान गए छन् । यस अभियोगमा उनको जातपतीत भयो । जातपतीत भएपछि आफन्तले उसले छोएको खान र आफ्नो भान्सामा खुवाउन हुँदैनथ्यो । जात फर्काउन पतीया लिन पर्दथ्यो । यसका लागि गोदान गर्न १७ पैसा र दान प्रतिष्ठा गर्न ४ पैसा लाग्दथ्यो । यो रकम बडागुरुज्यूको आम्दानी हुन्थ्यो । यस विषयमा मुद्दा परे २ रूपैञा जरिवाना पनि लाग्दथ्यो ।
पद्मसुन्दर मल्लले यहाँ पतीया पाएनन् । उनलाई काठमाडौँ उपत्यकामा प्रवेश निषेध गरियो । धेरै बिन्तीभाउ पछि विराटनगरमा बस्ने अनुमति दिइयो । यिनै पद्मसुन्दर मल्लको सिफारिसमा बीपी कोइराला हरिप्रसाद प्रधान कहाँ वकालत सिक्न दार्जीलिङ गएका हुन् ।
यता जुद्धशमशेरलाई आफ्ना पिता धीरशमशेरको स्मृतिमा पूर्वमा पशुपतिनाथको मन्दिर स्थापना गर्ने लहड चलेछ । यो काम गर्न आफ्ना छोरा बहादुरशमशेरलाई जुद्धशमशेरले खटाए । इलामको गोर्खे भन्ने ठाउँमा भन्सार थियो र राम्रो आमदानी हुन्थ्यो । गोर्खेको भन्सारलाई चार कटेरीमा सार्ने र त्यहीँ मन्दिर स्थापना गर्ने बहादुरशमशेरले तय गरे । त्यसबेला चार कटेरी जङ्गल थियो । त्यहाँ सुन्तलेका अधिकारी, माघेका भट्टराई, कारफोकका ढुंगाना र गैरी गाउँका पराजुलीहरूको बर्खे गोठ रहन्थ्यो ।
त्यसैले त्यस ठाउँको नाउँ चार कटेरी रहेको हो । त्यहाँ प्रथम विश्वयुद्धबाट फर्केका व्यक्तिहरूलाई जग्गा दिई बस्ती बसाइयो । पशुपतिनाथको मन्दिर स्थापनार्थ यो काम गरिएबाट चार कटेरीको नाम पशुपतिनगरमा रूपान्तरण गरियो । यस ठाउँलाई चार कटेरी भन्नेलाई ६ महिना कैद हुने सनद जारी गरियो । यहाँ धीरशमशेरको सालिक पनि राखिने निधो भयो ।
खटिएर गएका बहादुरशमशेरलाई जङ्गलमा बस्ने उपयुक्त ठाउँ हुने कुरै भएन । नजिकैको सुविधासम्पन्न दार्जीलिङको ग्रीनरीजका छेउमा घर नै किनेर बहादुरशमशेर बसे । दार्जीलिङका सक्रिय युवाहरू हरिप्रसाद प्रधान, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानले बहादुरशमशेरलाई भेटेर पशुपतिनाथको मन्दिर घनाबस्ती भएको सुन्दर सहर दार्जीलिङमा बनाउन आफूहरूले सहयोग गर्ने वचन दिए । यो प्रस्ताव मञ्जूर पनि भयो र मन्दिर दार्जीलिङमै बन्यो । गोर्खेको भन्सार पशुपतिनगरमा आयो । तर, पशुपतिनाथको मन्दिर दार्जीलिङको रेलवे स्टेसनको छेउमा बन्यो । धीरशमशेरको स्मारक पनि त्यहीँ बन्यो । मन्दिरको नाम रह्यो धीरेश्वर महादेव र मन्दिर स्थापित स्थानको नाम भयो धीरधाम । यी सब काममा सक्रियता हिलम्यान्स् एसोसिएसनका अध्यक्ष हरिप्रसाद प्रधानको रह्यो ।
यति मात्र नभई नेपालका बडागुरुज्यूको सिफारिसमा धीरधाममा दुई जना पूजारी नियुक्त हुने व्यवस्था गरियो । मूल पुजारीले मासिक २५।– र सहायकले १५।– रूपैयाँ तलब पाउँथे । बस्ने खाने व्यवस्था मन्दिरमै हुन्थ्यो । धीरधामका नाममा जग्गा किनियो र गुठी पनि रह्यो ।
बडागुरुज्यूको मातहतमा रहने धर्माधिकारीको पतीया दिने अधिकार धीरधाममा पनि लगियो । धीरधाममा हरिप्रसाद प्रधानको सक्रियतामा धर्माधिकारीको शाखा खुल्यो । पूजारी र धर्माधिकारी काठमाडौं बडागुरुज्यूबाट नियुक्त हुने व्यवस्था २००७ सालको अन्त्यसम्म कायम थियो ।
१९९५ सालमा प्राणप्रतिष्ठा गरिएको उक्त मन्दिरका कारणले बहादुरशमशेरमार्फत राणाहरूसँग हरिप्रसाद प्रधानको घनिष्ठता हुन पुग्नु स्वाभाविकै हो (जनकलाल शर्मा/१–४) ।
हरिप्रसाद र बीपी कोइराला
हरिप्रसाद प्रधानकहाँ वकालत सिक्न गएका बीपी कोइरालाले वकालतमा सफलता पाउन सकेनन् वा यस व्यवसायमा उनको रुचि भएन वा धैर्य भएन । बी.पी.को भनाइमा संवैधानिक विवादबाहेक अरु मुद्दामा उहाँको रुचि भएन । यस्ता मुद्दा जिल्ला स्तरको अदालत रहेको दार्जीलिङमा हुने कुरा भएन (गणेशराज शर्मा/२६) । बीपी बनारस फर्की राजनीतिमा लागे । २००७ सालको परिवर्तनपछि बीपी कोइराला गृहमन्त्री भए । त्यसबेला न्याय कानुन पनि गृह मन्त्रालयअन्तर्गत थियो ।
मोहनशमशेर प्रधानमन्त्री भए पनि पराजित मानसिकता र पुरातन सोचाइले गर्दा बीपी कोइराला नै सर्वेसर्वा थिए । आफ्ना सिनियर (गुरु) हरिप्रसाद प्रधानलाई प्रधान न्यायाधीश हुन दार्जीलिङबाट बोलाए । नेपाली नागरिकमात्र प्रधान न्यायाधीश हुने संवैधानिक प्रावधानमा हेक्का राखिएन । पछिबाट अन्तरिम शासन विधानको धारा ३०(३) संशोधन गरियो । उपयुक्त नेपाली नागरिक नपाइए विदेशीलाई पनि यो पद दिन सकिने संशोधन गर्न गराउन केही समय लाग्यो ।
२००८ साल साउन २६ गतेदेखि प्रधान न्यायाधीशको कार्यभार सम्हालेका हरिप्रसाद प्रधानले २०१३ साल जेठ ७ गतेसम्म कायम पहिलो कार्यकालमा नेपालको न्यायपालिकाका लागि जुन देन दिए, त्यो आज पनि कीर्तिमय छ । विगत होइन वर्तमानमा गरिने कामबाट मानिस इतिहासमा अमर हुन सक्छ । यही अमरत्वको चाहना सबै अवसर पाउनेहरूमा हुनुपर्दछ ।
केही गर्ने अवसर सबैले पाउँदैनन् । जसले पाउँछन् तिनले के सम्झन पर्यो भने यो अवसर एउटा हाँक हो । समय बढो क्रूर हुन्छ । आजका ‘जी हजुरी’ पदबाट हट्नेबित्तिकै हराउँछन् । कामले दिने नाम नै दिगो हुन्छ । पद प्राप्तिबाट नै महान भइने भए आज कति–कति हरिप्रसाद प्रधान भइसक्थे होलान् । त्यसैले ‘आज’को महत्व छ, केवल ‘आज’को ।
(पूर्वन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य प्रकाश वस्तीको प्रकाशोन्मुख पुस्तक ‘हाम्रो कानुनी इतिहासको नालीबेली’बाट एक अंश । १ हजार ५६ पृष्ठको उक्त पुस्तकमा हाम्रा कानुनी प्रणाली र कानुनी प्रणालीका विशेषता समेटिएका छन् । जसमा पच्चीस मिथकहरू, सत्तरीवटा ऐतिहासिक अभिलेखहरू, पुस्तकमा सात परिच्छेद र वर्णानुक्रमित सूचीपत्र सामेल छ । उक्त पुस्तक यही साउन ८ गते सार्वजनिक हुँदै छ ।)