वीरगञ्ज । वीरगञ्ज-रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति वीरगञ्ज इनर्वा नाका हुँदै भारतमा प्रवेश गरेका २६ वर्षीय नाइजेरियाली नागरिक चियाबुटु कोरनेलुवसलाई शंकास्पद अवस्थामा अध्यागमन अधिकारीले पक्राउ गरेको हो । अध्यागमनका डीएसपी अजयकुमार पंकजले नाईजेरियाली नागरिकलाई पक्राउ गरेको बुधवार पुष्ठि गरेका छन् । पक्राउ परेका नाइजेरियन नागरिक भिसा पासपोर्ट लिएर नेपालबाट पैदल हिड्दै भारतीय सीमामा प्रवेश गर्ने क्रममा पक्राउ गरिएको डिएसपी पंकजले बताए ।
विदेशी नागरिकलाई देखेपछि अध्यागमनका कर्मचारीले सीमामा रोकेर अनुसन्धान गरेका थिए । अनुसन्धानको क्रममा उनीबाट म्याद सकिएको पासपोर्ट बाहेक कुनै आधिकारीक परिचय पत्र फेला नपरेपछि पक्राउ गरिएको हो । डिएसपी पंकजका अनुसार उनीसँग भारत प्रवेश गर्न भिसासहित अन्य आधिकारीक कागजात थिएन । सोधपुछका क्रममा उनी केही दिनदेखि नेपालमा लुकेर भारत छिर्ने योजनामा रहेको खुलेको छ ।
रक्सौल हुँदै दिल्ली जाने उनले योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ । यद्यपी कुन प्रयोजन र के कामका लागि भारतको राजधानी दिल्ली जाँदै थिए भन्ने कुरा भने स्पष्ट नभएको अध्यागमन स्रोतले जनाएको छ । रक्सौल प्रहरी चौकीमा अनुसन्धान र जाहेरी दर्ता गरी पक्राउ परेका विदेशी नागरिकलाई हरैया प्रहरीको जिम्मा लगाइएको अध्यागमनका डिएसपी पंकजले बताए ।