वीरगञ्ज । भारतीय जनता पार्टी (भाजपा)की पूर्व प्रवक्ता नुपूर शर्माको समर्थनमा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राखेको भन्दै भारतको राजस्थानस्थित उदयपुर शहरमा एक व्यक्तिको हत्या गरिएको छ ।
उदयपुरमा एउटा कपडा सिलाउने पसल सञ्चालन गरेर बसेका स्थानीय दर्जीको दुई युवकले मंगलबार निर्मम तरिकाले छुरा प्रहार गरी हत्या गरेका छन् । उनीहरुले स्थानीय कन्हैयालाला तेली नामक व्यक्तिको छुरा प्रहार गरी टाउको काटेर हत्या गरेका हुन् । कन्हैयाको कपडा सिलाउने पसलमा नाप दिन पुगेका अभियुक्तहरुले उनलाई समातेर लगातार घाँटीमा छुरा प्रहार गरेका थिए ।
कन्हैयाले भाजपाकी पूर्वप्रवक्ता नुपूर शर्माको समर्थनमा पोस्ट राखेको भन्दै उनको हत्या गरिएको अभियुक्तहरुले स्वीकार गरेका छन् । उनीहरुले कन्हैयाको हत्या गर्दा समयको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा राखेका छन् । त्यसपश्चात उनीहरुले एउटा अर्को भिडियो बनाएर कन्हैयाको हत्याको जिम्मा लिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नुपुर शर्मालाई मार्ने धम्कि पनि दिएका थिए ।
प्रहरीले दुबै हत्याराहरुलाई नियन्त्रणमा लिएको छ । शहर छोडेर भागिरहेको क्रममा उनीहरुलाई भारतीयले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा उदयपुरमै बस्दै आएका गौस मोहम्मद र रियाज अहमद रहेका छन् । उनीहरुमध्ये एकजनाले केहि दिन अगाडिनै नुपूर शर्माको समर्थन गर्नेहरुको हत्या गरिने धम्कीपूर्ण भिडियो बनाएर राखेका थिए । तर प्रहरीले उनको त्यो धम्कीलाई वास्ता गरेन ।
भारतीय सञ्चारसंस्था इण्डिया टुडेका अनुसार दुवै अभियुक्त पाकिस्तानमा रहेको मुस्लिम कट्टरपन्थी संगठन दावत-ए-इस्लामीसँग सम्बन्धित छन् ।
नुपूर शर्माले केही दिन अगाडि एउटा टेलिभिजन कार्यक्रममा मुसलमानहरूका पैगम्बर मोहम्मदमाथि विवादास्पद टिप्पणी गरेकी थिइन् । शर्माको टिप्पणीलाई लिएर उनिको समर्थन र विरोधमा धार्मिक समूहहरुले प्रदर्स्शन गर्दै आएका छन् । सोहि शर्माको समर्थनमा कन्हैयाले फेसबुकमा एउटा पोस्ट लेखेका थिए । कन्हैयाको हत्या पश्चात शहरमा स्थानीयहरुले गरिरहेको विरोध प्रदर्शनलाई रोक्न त्यहाँ अहिले कर्फ्यु लगाइएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । यात्रा डेलीबाट साभाल गरिएको