वीरगंज । तातोपानी गाउँपालिका–७ बारागाउँका ५१ वर्षीय पुनिबल रावतका चार दशक पिउने पानीकै लागि गाउँमा युद्द लडेर बित्यो । एक गाग्री पानीका लागि घण्टौ लाइन बस्नुपर्ने र कसैले भुलेर पनि पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद् क्षणहरू पुनिबल अहिले पनि झलझल्ती सम्झिन्छन् । कति दिन पालो नपाएर रित्तो गाग्री घर फर्किनु परेको उनको तितो सत्य अनुभव छ । त्यस्तै वर्षांैदेखि गाउँमा खानेपानी अभाव हुदाँको पीडा पुनिबलभन्दा बारागाउँकी सन्तली रावतले बढी भोग्नु परेको छ । एक गाग्री पानीका लागि भनाभन हुने, कुटाकुट हुने, समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सन्तली सुनाउँछिन् । तर वर्षौपछि नमुना खानेपानी आयोजना निर्माण हुँदा पुनिबल र सन्तली मात्र होइन बारागाउँबासी नै उत्साहित छन् । अब एक गाग्री पानीका लागि युद्द लड्नु पर्ने बाध्यताको अन्त्य हुने आशा पलाएको छ । सन्तलीले भनिन्, “अब सुविस्ता हुन्छ कि ? गाउँमा ठूलो खानेपानी आयोजना बनेको छ । यसबाट महिलालाई बढी राहत हुने आशा छ । भने सरसफाइ, सिँचाइदेखि शुद्ध पानि घरमै पाउने छौं ।”
बारागाउँमा झण्डै १ सय ७२ घरधुरि छन् । १ सय ७२ घरधुरीका करिब ११ सय जनसंख्या दुईवटा मात्रै धाराको भरमा छन् । पुनिबल भन्छन्, “गाउँमा बनेको बारागाउँ बृहत् बुहउपयोगी खानेपानी आयोजनाले नागरिक तिर्खा मेटाउने छ भने, खानेपानीको सुविस्ता हुनेछ । आयोजनाको दिगो व्यवस्थापन तथा संरक्षणमा नागरिक जिम्मेवार हुनुपर्छ ।”
पेस नेपाल जुम्लाद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनामार्फत बारागाउँमा नमुना बृहत् बहुउपयोगी खानेपानी आयोजना बनेको हो । आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भने, “करिब ६० लाख २५ हजार रूपैयाँ लगानीमा २८ हजार लिटरका दुईवटा ट्यांकी निर्माण गरिएको छ भने, करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाइन ल्याइएको छ । बारागाउँबासीको आवश्यकतालाई मध्यनजर गरी बृहत् खानेपानी आयोजना बनाएका हांै । शुद्ध पानीको पहुँचमा पुग्ने आशा छ ।” पेस नेपालको ६० लाख बढी लगानी तथा प्राविधिक सहयोग र उपभोक्ताको शून्य श्रमदानमा आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । त्यसका साथै पेस नेपालले जिल्लाका तातोपानी हिमा र तिलामा करोड बढीको लागतमा नमुना सामुदायिक सेवा केन्द्रका भवन निर्माण गरेको अध्यक्ष न्यौपानले जानकारी दिए । साथै तातोपानी गाउँपालिका उद्यम विकास शाखाबाट सञ्चालित ४५ दिने सिलाइकटाइको समेत अनुगमन गरिएको थियो । १७२ धारा निर्माण हुँदै बारागाउँ बहुउपयोगी खानेपानी आयोजनाबाट बारागाउँमा १ सय ७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेस नेपालको लगानीमा सकिए पनि धारा निर्माण स्थानीयले स्वयम् गर्नेछन् । आयोजना निर्माण समितिका अध्यक्ष देवबहादुर रावत भन्छन्, “अबको डेढ हप्तामा घरघरमा पानी छर्किने छ । पेसले पाइपलाइन घरघरसम्मै पु¥याउने छ भने धारा बनाउन मिटर, टुटि सबै उपलब्ध गराएको छ । तर स्थानीयले आफ्नो अनुकूलताअनुसार धारा बनाउने छन् । पानीको अधिकतम सदुपयोगमा जोड दिइने छ ।
खेर जाने पानीलाई सिँचाइमा परिणत गर्ने योजना छ ।” खानेपानीका दुःख भोग्दै आएका बारागाउँबासी ठूलो आयोजना बनेपछि थोेरै लगानी गरेर धारा बनाउन तयार भएका छन् । ढिलोमा असार अन्तिमसम्म खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण गरिने छ । गत शनिबार खानेपानी आयोजना सुधारिएको घट्ट, ढल निकासलगायत पक्कि सामुदायिक सेवा भवनको तातोपानी गाउँपालिका र पेसको संयुक्त अनुगन गरिएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले खानेपानी आयोजना प्रशंसायोग्य र नमुना भएको बताए । विकास थोरै तर गुणात्मक गर्नुपर्ने कुरा सिकाइ भएको छ । उनले भने, “सरकार नपुगेको ठाउँमा, गैससको अर्थपूर्ण सहभागिताले विकास अघि बढेको छ । आगामी दिनमा पेस नेपालसंगको सहकार्यलाई थप प्रभावकारी बनाइने छ भने खानेपानी आयोजनालगायत पूर्वाधारको संरक्षण र प्रयोगमा जोड दिइने छ ।” तातोपानीका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले नागरिकको आवश्यकतालाई मध्यनजर गरी सेवा प्रवाहदेखि पूर्वाधार विकासमा पेसले उल्लेखनीय काम गरेको बताए । समाज रूपान्तकरणका लागि गैसस र सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्ने जोड दिए ।