वीरगंज | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ ।
सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको थियो । लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ ।नेपालले १६ खेलमा १५ अंक जोडेको छ । अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।