काठमाडौं । सरकारले आउँदो वर्ष कृषियोग्य भूमिमा सिँचाइ सुविधा बढाउने भएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्ष थप २२ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने बताइन् । उनले सिँचाइ सुविधा विस्तार गर्न ठूला तथा बहुउद्देश्य सिँचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माणकार्य, भेरी–बबई डाइभर्सनको हेडवर्कस तथा पावरहाउस र सुनकोसी–मरिन डाइर्भसनको निर्माण तीव्र रूपमा अघि बढाइने उनले उल्लेख गरिन् ।
यस्तै, नौमुरे राप्ती, कपिलवस्तु डाइभर्सनको निर्माणकार्य सुरु गरिने, बृहत् दाङ उपत्यकमा सिँचाइ आयोजनाको मूल नहर विस्तार र चन्द्रनहरको मर्मतसम्भार गरिने उनले बताइन् । पहाडी तथा हिमाली क्षेत्रमा लिफ्ट सिँचाइ तथा तराईको कृषियुक्त क्षेत्रमा पानी सञ्चय पोखरीको निर्माण गरिने उनले जानकारी दिइन् ।