वीरगंज । यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक घिमिरेले बताए। यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको उनको भनाइ छ। जेठ १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने हाम्रो योजना हो। सार्वजनिक बिदा पर्ने भएकाले यो व्यवस्था जेठ ४ गतेबाट लागू गर्ने तयारी छ ।महानिर्देशक घिमिरेका अनुसार लाइसेन्सका लागि यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा सकिन लागेको अवस्था छ।
‘उपत्यका बाहिर प्रायः सबै कार्यालयले पुराना आवेदनको परीक्षा सकिसकेका छन्। उपत्यकाभित्र पनि एकादुई कार्यालयको बाँकी छ,’ घिमिरेले भने। गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ। विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ।
कतिपय कार्यालयहरूले बिहान, दिउँसो र साँझ तीन सिफ्टमा परीक्षा सञ्चालन गरेर सकाइसकेको विभागको भनाइ छ।
अब जम्मा भएको चाप सकेर विभागले नयाँ प्रणाली लागू गर्छ जुन प्रणालीमा विभागले सीमित आवेदन लिन्छ. यसपछि परेका आवेदनको परीक्षा सकाएर मात्रै नयाँ आवेदन खुला गर्छ। एक लटमा बढीमा १५ दिनसम्म पालो आउने गरी आवेदन लिने विभागको योजना छ।