जनकपुरधाम । नेपाल भारतको सुरक्षा अधिकारीहरूको जनकपुरधाममा आज सम्पन्न भएको संयुक्त बैठकले नेपाल भारतको सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय सहित सम्पन्न भएको छ ।
भारतको विहारको सीमावर्ती क्षेत्रको ग्राम पञ्चायतमा सेप्टेम्बर २९ तारेख अर्थात असोज ११ गते चुनावलाई दृष्टिगत गरेर भएको सुरक्षा बैठकमा चुनाव हुनु भन्दा ४८ घण्टा अगाडी नेपाल भारतको सीमा नाका शील गर्ने निर्णय भएको छ ।
११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलीरहित बनाउनका लागि नेपालबाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षा पक्षबाट गराइएको छ । खास गरेर नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल तर्फ ड्रग्सको सप्लाई बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गर्नु भएको थियो ।
बैठकमा अवैध सामान ओसारपसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सहमत हुनु भएको छ । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा गर्नु भएको थियो ।
धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा भारतका तर्फबाट विहारका दरभंगाका डिभिजनल कमिस्नर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डि एम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबिका प्रमुख सहितका सुरक्षा अधिकारीहरूको सहभागिता रहेका थिए ।