जनकपुरधाम | प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ।जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले चोइटिएर गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाएसँगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको हो।
पार्टी विभाजन हुनुअघि प्रदेशसभामा जनता समाजवादी पार्टीसँग ५५, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद रहेका थिए।
जसपा फुटेपछि यसका १६ प्रदेशसभा सदस्यले लोसपा रोजेका छन् भने एमाले छाडेर एकीकृत समाजवादीमा १३ प्रदेशसभा सदस्यले सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जानकारी दिएको छ। योसँगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमा लोसपा तेस्रो ठूलो शक्ति बनेको छ भने माधवकुमार नेतृत्वको एकीकृत समाजवादी नेकपा एमालेलाई पछाडी पार्दै चौथो ठूलो शक्ति बनेको छ।
अब प्रदेश २ को प्रदेशसभामा जसपा ३९ जना सांसदसहित सबैभन्दा ठूलो शक्ति बनेको छ। तेस्रो दलको रूपमा रहेको कांग्रेस १९ सांसदसहित दोस्रो दल बनेको छ।त्यस्तै लोसपा १६ सांसदसहित तेस्रो दल बनेको छ भने एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ। पार्टी विभाजनअघि दोस्रो ठूलो दल रहेको एमाले अब ८ जना प्रदेशसभा सदस्यमा सीमित भएको छ। माओवादी केन्द्रसँग पनि ८ जना सांसद छन्।