सर्लाही । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल‘प्रचण्ड’ ले आफ्नो पार्टी नम्बर एक नभएसम्म देशमा स्थायित्व र विकास नहुने बताएका छन्।सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीको जोरपाटीमा सोमबार गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
मधेस माओवादीमय नभएसम्म मधेसी जनताको मुक्ति सम्भव छैनु, उनले भने, ‘माओवादीबाहेक अरु कसैलाई मत दिँदा परिणाम के हुँदो रहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ।’
दाहालले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्मका सबै उपलब्धी झण्डै गुमेको पनि उनले बताए। ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा झण्डै झण्डै संघीयता गयो, गणतन्त्र झण्डै फेल भयो’, उनले भने, ‘अब हाम्रो पार्टीले मधेसमा कब्जा जमाउने छ। त्यसपछि मात्रै त्यहाँका जनताले अधिकार पाउँछन्, विकास हुन्छ।’
माओवादीले मधेसमा कब्जा जमाउन सकेमा यसले देशभर नै गतिलो सन्देश जाने पनि दाहालले जिकिर गरे। प्रचण्डले माओवादीलाई एक नम्बर पार्टी बनाउन अभियानसहित गाउँ फर्किन पनि कार्यकर्तालाई आग्रह पनि गरे।
‘जबसम्म माओवादी फेरि नम्बर एक पार्टी हुँदैन, तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ दाहालले भने, ‘माओवादीबाहेकलाई अरुलाई भोट दिँदा कसैको मुक्ति हुँदैन। दलाल र जाली–फटाहाले मधेसको मसिहा बनेर जनतालाई चुसेको हामीले देखेका छौँ। अब मधेसमा अरु पार्टी होइन, माओवादीले कब्जा जमाउनेछ।’उनले सर्लाहीका चारै क्षेत्रमा अर्को चुनावमा माओवादीले जितेमा देशभर बलियो सन्देश जाने बताए। उनले माओवादीले जितेमा मात्रै देशमा परिवर्तन हुने बताउँदै त्यसका लागि लाग्न पनि आग्रह गरे।