वीरगन्ज । रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान चाहने नागरिकहरूका लागि सरकारले क्यूआर कोड सहितको कोरोनाको विद्युतीय खोपकार्ड जारी गर्न थालेको छ । केही समययता चर्को दबाब आउन थालेसँगै सरकारले बुधबारदेखि यस किसिमको व्यवस्था गरेको हो ।
यसका लागि साउन २१ देखि यहाँ क्लिक गरी अनलाइन पोस्ट रजिष्ट्रेसन (Online Post Registration) गरी त्यहाँ उल्लेख भएअनुसारका विवरण तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ । अनलाइन पोस्ट रजिष्ट्रेसन गर्न असमर्थ हुनुहुन्छ भने २०७८ साउन २१ देखि (बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबार समेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा उपस्थित भएर यो कार्ड लिन सकिनेछ ।
त्यसका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपी, खोप कार्डको फोटोकपी र कबुलियतनामा आवश्यक पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
यहाँ क्लिक गरी कबुलियतनामा फाराम भर्ने स्थानमा गएर कबुलियतनामा कागजात डाउनलोड गर्न सकिनेछ । यसैगरी तीन दिनभित्र विदेश जान चाहनेहरूका लागि थप कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ ।
जसमा भिषा र टिकटको फोटोकपी चाहिने उल्लेख छ । क्यूआर कोड सहितको विद्युतीय कोरोना खोप कार्डको विषयमा थप जानकारी आवश्यक भएको खण्डमा दीपक झा नाम गरेका कर्मचारीलाई ९८४३२८४३५२ मा सम्पर्क गर्न सकिनेछ ।