वीरगन्ज । दीक्षा सुवेदी ।नेपालको शिक्षा क्षेत्रमा समय सापेक्ष विभिन्न परिवर्तनहरु हुँदै आईरहेकाे छ। कुनै पनि देशको मानव संशाधनको आधार शिक्षा हुने गर्छ। शिक्षाबीना विकास र परिवर्तन अकल्पनीय छ। अहिले विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको अवस्थामा शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन।कोभिड १९ ले अस्तव्यस्त भएको शिक्षा क्षेत्रलाई पूनः आफ्नो संरचनामा ल्याउन हम्मे हम्मे पर्ने कुरा पनि सर्वबिदितै छ।
हामीले शिक्षामा प्रविधिको प्रयोग, जीवन उपयोगी शिक्षा ,सीपमूलक शिक्षा अादि जस्ता कुरामा जति बहस चलाए पनि हाम्रो व्यवहारीक शिक्षा केवल विद्यालयमा मात्र सिमित र विद्यार्थीको उत्तरपुस्तिका परिक्षण मुल्याङ्कनको आधार रहेको तितो यथार्थ छ।हामीले शिक्षालाई विद्यालयको चार घेराबाट बाहिर निकाल्न नसकेको सत्य तथ्य पनि हामीमाँझ छदैंछ।
कोभिड १९ को यस विषम परिस्थितिमा शिक्षा क्षेत्रमा कार्यहरु नभएका भने पक्कै होईनन्। नेपालको हालको पन्ध्रौ विकास योजनाले शिक्षालाई मुलुकको दिगो शान्ति एवं समृध्दिका लागि महत्त्वपूर्ण आधारको रुपमा स्वीकारेको छ भने कोभिड १९ को हालको अवस्थामा नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन ,कोभिड १९ कन्टिञ्जेन्सी प्लान २०२०, वैकल्पिक प्रणालीबाट विद्यार्थीलाई सिकाई सहजीकरण निर्देशिका, २०७७ जारि गरि लागू गरिसकेको छ भने एन सि डि ले कक्षा ९ र १० को भर्चुअल कक्षाहरु सञ्चालन गर्दै आएको छ र कश्छा १-८ सम्मको भर्चुअल कक्षाको तयारी पूर्ण गरिसकेको छ भने नेपालका केही सामुदायिक विद्यालयहरु तथा निजी विद्यालयहरुले आंशिक तथा पूर्णरुपमा भर्चुअल माध्यमबाट कक्षाहरु सञ्चालन गर्दै पनि आएका छन् ।यो एउटा सकारात्मक पक्ष हो तर हामी एकपटक गम्भीर भएर सोचौ ! हाम्रो देशका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जो प्रविधिको पहुचमा छैनन् तिनीहरुको लागि अहिलेको प्रविधिमैत्री शिक्षा दिवास्वप्न बनेको छ। जसको बारेमा सम्बन्धित निकायले समयमै ध्यानाकर्षण गर्नु नितान्त आवश्यक छ। यस्तो अवस्थामा शिक्षा क्षेत्रमा ठूला ठूला महत्वकांक्षी योजनाहरु बनाएर मात्र शिक्षाको उदे्दश्य प्राप्त गर्न खोज्नु त्यति सान्दर्भिक देखिन्देैन।
अहिलेको अवस्थामा बालबालिकालाई शिक्षासंग जोडि राख्न हामीले विद्यार्थीहरुलाई आधुनिक प्रविधिसंग जोड्नु पर्ने देखिन्छ। हरेक स्थानिय तहदेखि नै प्रविधिमा विज्ञ समुहहरु निर्माण गरि त्यसलाई परिचालन गर्न सकिन्छ। प्रत्येक घर परीवारमा मोबाईल ,कम्प्युटर, ल्यापटपको उचित व्यवस्थापन गरी अभिभावको संरक्षणमा बालबालिकालाई त्यसको प्रयोगको बारेमा जानकारि दिनुपर्छ तथा विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने र उक्त शिक्षणको लागि शिक्षकलाई प्रशिक्षण दिने जस्ता कार्यहरुको थालनी गर्नुपर्ने पनि देखिन्छ। कोभिडको यस महामारीले अन्य क्षेत्रमा जस्तै शिक्षाको क्षेत्रमा पनि आमूल परिवर्तनको खाँचो रहेको कुरा पहिल्याएको छ।