वीरगन्ज । सरकारले चालु आर्थिक वर्षमा कोभिड–१९ महामारीबाट प्रभावित बनेका करदातालाई २ अर्बभन्दा बढी कर छुट दिएको छ । शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडलले चालु आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै ५ लाख २० हजार ३ सय ३९ करदातालाई वार्षिक कारोबारको आधारमा आय वर्ष २०७६/०७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख छुट सुविधा दिइएको बताए ।
यस्तै कोभिड–१९ महामारीले उद्योग व्यवसायमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब भन्दा बढी ब्याज छुट दिएको पनि उनले जानकारी दिए ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मासिक ब्याज रकममा आधार दरभन्दा कम नहुनेगरी १० प्रतिशत र चौँथो त्रैमासमा २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम हुनेगरी छुट दिँदा ऋणीहरूले २०७७ असारसम्ममा करिब १० अर्ब २१ करोड ६६ लाख छुट सुविधा प्राप्त गरेका आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
यता सरकाले कोभिड–१९ महामारीबाट प्रभावित सामाजिक सुरक्षा कोषमा आबद्ध प्रतिष्ठानमा कार्यरत श्रमिकको आर्थिक वर्ष २०७६/०७७ को अन्तिम ४ महिनाको श्रमिक तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने योगदान रकम १ अर्ब ३ करोड २४ लाख ६ हजार नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको छ ।