जनकपुरधाम । प्रदेश २ को नामका लागि ६ वटा र राजधानीका लागि ७ वटा प्रस्ताव प्रदेशसभामा दर्ता भएका छन्।
नामका लागि मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्यमधेश प्रदेश दर्ता भएका छन्। त्यस्तै राजधानीको लागि जनकपुरधामको पक्षमा ५ वटा र वीरगंजको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।
सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन् भने नेकपा एमालेले जनक प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका छन्।
नेपाली कांग्रेसकै सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश प्रदेश प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए। मध्यमधेश प्रदेश प्रस्तावको समर्थन सांसदहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले गरेकी छन्।
त्यस्तै राजधानीमा ७ वटा प्रस्ताव दर्ता भएका छन्।
राजधानीको लागि राजेश्वर प्रसाद साह र सिंगासन साह कलवारले वीरगंजलाई राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन् भने बाँकीले जनकपुरधामलाई स्थायी राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन्।
प्रदेशसभाका सचिव यादवले प्रस्ताव दर्ता भएपनि निर्वाचनको समय अहिले नतोकिएको बताए। प्रदेश २ को प्रदेशसभा बैठक भोलि १ बजे आह्वान गरिएको छ।