जनकपुरधाम | एक महिनाअघि ओछ्यानबाटै बेपता भएका झा दम्पती ज्यूँदै भेटिएलान् कि भन्ने परिवारको आशा सकिएको छ।एक महिनादेखि बेपता भएका महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको शव फेलापरेसँगै परिवार शोकमा डुबेको छ।
बिहीबार महोत्तरीको पिपरा गाउँपालिका वडा नं. २ अतरार जानेबाटोमा फेलापरेको शव झा दम्पतीकै रहेको उनको परिवारले पुष्टि गरेको छ।
झा दम्पतीकी छोरी बेबी झाले आज भेटिएका शवमा आमा गीतादेवीले लगाएको हरियो रंगको साड़ी, हातमा लगाएको लहठी, बुवा मुसाफिरले लगाएका भेष्टसहितका कपडाले शव आफ्ना बुवाआमाको भएको खुलेको बताइन्।
उनले भनिन्, ‘आमाले लगाउनुभएको साडी, लहठी सबै त्यही थियो। अर्को शवमा बुवाले लगाएको भेष्ट पनि भेटिएको हो।’
झा दम्पती बेपता भएको एक महिना बितिसक्दा पनि शव फेलापरेको स्थानमा केहिदिन पहिला मात्र राखिएको हुनसक्ने अनुमान गरिएको छ। निर्माणधिन अवस्थामा रहेको सडकखण्डमा अहिले स्काभेटरले दिनैपिच्छै खन्ने काम गरेको स्थानीयहरुले बताए।
महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आर्चायले सडेको अवस्थामा फेलापरेको शवलाई झा दम्पतीका परिवारले शनाखत गरेपनि अन्य विभिन्न जाँचपछि मात्र थप बताउन सकिने बताए।
उनले भने, ‘हाम्रो विभिन्न टोली अनुसन्धानमा खटेको थियो। सोही अनुसन्धानको क्रममा यहाँ सडेको अवस्थामा माटोमा पुरिएको शव फेला परेको छ। शवलाई झा दम्पतीका परिवारका सदस्यले सनाखत गरेपनि अन्य जाँच पश्चात मात्र थप पुष्टि हुन्छ।’
उनले झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई पहिला नै सार्वजनिक गरिएको भन्दै यस घटनामा उनीहरुको संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए। यस घटनामा जिल्ला प्रहरी कार्यालय महोत्तरी, प्रदेश २ प्रहरी कार्यालय जनकपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटेको थियो।
उनीहरुको खोजतलाशकै क्रममा प्रहरीले साना ठूला गरी विभिन्न ५४ वटा पोखरी तथा पानी जमेको खाल्डाहरूमा समेत खोजी गरेको थियो।
प्रहरीले केही दिन पहिला प्रहरीले सहोडवाकै ५२ वर्षीय रामबाबु यादव र उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव तथा भारतको बिहार राज्य मधुवनी जिल्ला, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नं. २ अनदौली घर भइ हाल पिपरा गाउँपालिका वडा नं.६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो।
प्रहरीले जग्गा विवादकै कारण झा दम्पतीलाई बेपत्ता पारिएको अनुसन्धानबाट खुलेको बताएका थिए।