वीरगन्ज । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत नेपालमा आज दोस्रो चरण सुरु गरिँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि अग्रपंक्तिमा खटिएका पत्रकारलाई कोरोनाविरुद्ध खोप दिइनेछ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको काेभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई लगाइकाे थियाे।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा सोमबारदेखि पाँच दिनसम्म अग्रपंक्तिमामा काम गर्ने पत्रकारलाई खोप दिइने जानकारी दिए।उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ।खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३ हजार पत्रकार छन्।पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ। पहिलो चरणको अभियान शनिबारबाट सकिएको थियो।