वीरगञ्ज । पर्सास्थति नेपालको सबैभन्दा पूरानो शैक्षिक संस्थामध्ये एक ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा एक व्यक्तिले जबरजस्ती कब्जा गरेर राखेको पाइएको छ ।
राजकिशोर पाण्डे नामक व्यक्तिले क्याम्पसको १५ धुर जग्गा जबर्जस्ती कब्जा गरेर राखेको पाइएको छ । शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका क्याम्पसका पूर्व कर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपुर्जा बनाई जग्गा आफ्नो बनाएका हुन् ।
क्याम्पस प्रशासनले पटकपटक क्वार्टर खाली गर्न पत्राचार गर्दा पाण्डेले आफ्नो नाममा रहेको लालपुर्जा देखाउने गरेका छन् । जग्गा निजी व्यक्तिका नाममा कसरी नामसारी भयो भनेर क्याम्पसले मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । मालपोत कार्यालय पर्साले उक्त लालपुर्जामा उल्लिखित जग्गाको अभिलेख कार्यालयमा नरहेको जवाफ दिएको छ ।
मालपोत कार्यालयलाई क्याम्पसले गरेको पत्राचारका आधारमा मालपोत कार्यालयको मुद्दा शाखाले समेत उक्त नामको जग्गा अभिलेखमा नदेखिएको भनेर लिखित जवाफ दिएको छ भने मोठ भिडाउने शाखाले विवरण कम्प्युटरमा नदेखिएको जवाफ दिएको छ ।नापी शाखाबाट पनि फिल्डबुक निकाल्दा उक्त जग्गा कुनै व्यक्तिका नाममा नदेखिएका कारण पाण्डेले फर्जी लालपुर्जा तयार पारेको पुष्टि भएको क्याम्पस प्रशासनको भनाइ छ ।
यसबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिँदासमेत कारबाही प्रक्रिया अगाडि नबढेको र पाण्डेले पनि क्वार्टर खाली नगरेको क्याम्पस सामान्य प्रशासन शाखा प्रमुख गीताकुमारी श्रेष्ठले जानकारी दिइन् । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले फर्जी लालपुर्जा तयार पारिएको भनेर जानकारी आएकाले तत्काल छानबिन प्रक्रिया अगाडि बढाइने बताए ।