बिरगंज । कोरोना विरुद्धको खोप आज (शुक्रबार) सातै प्रदेशमा ढुवानी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।भारतले अनुदान गरेको १० लाख डोज खोपको लगाउनको लागि पहिलो प्राथमिकतामा चिकित्सक, सरफाईकर्मी र सुरक्षाकर्मी लगायतका फन्ट लाइनमा खटिएका व्यक्तिलाई लगाइने छ।
मन्त्रालयका अनुसार फन्ट लाइनमा खटिएका व्यक्तिलाई करिब ४० लाख डोज आवश्यक पर्ने जनाएको छ। अर्थात २० लाख मानिसलाई खोप दिनुपर्ने हुन्छ।
तर, भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप करिब ५ लाख मानिसलाई पुग्ने छ।
अनुदानबाहेका थप आवश्यक खोप खरिद गर्नको प्रक्रिया अगाडी बढेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
डा. गौमतका अनुसार केही दिनमै खोप कार्यक्रम सञ्चालन हुनेछ।
कस्ता व्यक्तिले खोप लगाउन हुँदैन ?
मन्त्रालयका अनुसार एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप दिइने छैन।
नेपालमा उपलब्ध भएको कोरोना खोप १८ वर्षभन्दा माथि उमेर समूहमा मात्रै परीक्षण भएकोले १८ वर्षभन्दा कम उमेरकालाई पनि यो खोप दिइनेछैन् ।
पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नमिलने मन्त्रालयले जनाएको छ।
साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नदिइने डा. गौतमले जानकारी दिए।
तर, स्वास्थ्यकर्मी हकमा भने खोप लगाउँदा वा नलगाउँदा हानी हुने विषय हेरेर दिइने डा.गौतमले बताउँछन्।
‘कोभिड वार्डमा काम गर्ने गर्भवती महिला हुनुहुँदोरहेछ भने उहाँको जोखिमको आधारमा खोप लगाउँदा वा नलगाउँदा हानी हुने विषय हेरेर दिइने छ,’ उनले भने, ‘नत्र, सामान्यतयाः अन्य गर्भवती महिलालाई खोप दिइने छैन।’
खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन सुझाव लिनुपर्ने उनको भनाई छ।