वीरगंज | कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन)को क्लिनिकल ट्रायल नेपालमा पनि गर्ने तयारी भएको छ। इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभिआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका दुई अस्पतालमा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो।कोरोना भाइरसविरुद्धको खोप क्लिनिकल ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरेसकेको छ।
खोप ट्रायलका विषयमा अब मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही सातामै कोरोना भाइरसविरुद्ध आइभिआईको खोपको क्लिनिकल ट्रायल सुरु हुनेछ।अनुसन्धान परिषद्को इथिकल वोर्डले खोपको क्लिनिकल ट्रायल सुरु गर्ने अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए।
‘कोरियावाला खोप क्लिनिकल ट्रायलको प्रोसेस अगाडि बढ्दै छ। हामीले हेर्ने इथिकल कुरा हो। इथिकलबाट स्वीकृत भएर आइसकेको छ,’ डा ज्ञवालीले भने, ‘हाम्रोबाट इथिकल कुरा हेरेर खोप क्लिनिकल ट्रायल गर्न उपयुक्त छ भनेर मन्त्रिपरिषद्लाई प्रस्ताव पठाउने तयारी छ। अब मन्त्रिपरिषद्बाट स्वीकृत भएमा नेपालमा ट्रायल हुन्छ।’
नेपालमा कोरोना भाइरसविरुद्धको फेज-थ्रीको खोप ट्रायल गर्न त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा तयारी थालिएको छ। क्लिनिकल परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ।कोरोना भाइरसविरुद्धको खोप ट्रायलमा प्रमुख अनुसन्धानकर्ता डा लक्ष्मण श्रेष्ठसहित डा दिव्या सिंह शाहलगायत नेपाली चिकित्सक छन्।खोप ट्रायलका लागि अनुसन्धानकर्ताहरूले त्रिवि शिक्षण अस्पतालमा केही दिनअघि अवलोकन गरेका थिए।
‘त्रिवि शिक्षण अस्पतालमा खोपको ट्रायलका लागि पूर्वाधार तयार पारिँदैछ,’ स्रोतले स्वास्थ्यखबरसँग भन्यो, ‘खोप ट्रायल गर्न अनुसन्धानकर्ताहरुले अवलोकन पनि गरिसक्नु भएको छ।’प्रमुख अनुसन्धानकर्ता डा श्रेष्ठले पनि खोपको क्लिनिकल ट्रायलका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले उपयुक्त ठहर गरिससकेको जानकारी दिए। उनले मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि ट्रायल सुरु हुने बताए।
‘खोपको ट्रायल गर्न अहिले नयाँ नियम छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृति दिएर मात्र ट्रायल गर्न मिल्दैन,’ डा श्रेष्ठले भने, ‘खोप ट्रायल गर्न अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान बाँकी नै छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएमा मात्र हामीले ट्रायल सुरु गर्छौँ।’ उनले मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि खोपको क्लिनिकल परीक्षणबारे थप जानकारी दिने बताए। ‘मन्त्रिपरिषद्ले स्वीकृति दिन बाँकी छ, त्यसैले यो खोपको विषयमा सबै कुराहरु पछि हामी पत्रकार सम्मेलन गरेर भन्छौं,’ उनले भने।