वीरगंज | सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा काठमाडौं परिसरमा तानिएका छन् ।
मंसिर २६ गते साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगेअड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीको ठक्करबाट ३ जनाको ज्यान गएको घटनामा ६ वटा अन्य सवारीमा क्षति पुगेको थियो ।
दुर्घटना गराउने बसका चालक मकवानपुर घर भएका रामबहादुर रखल मगरलाई छुटाउन बस समितिले दिएको घुस निरीक्षक शर्माले लिएको आरोप छ।
मुद्दा अल्झाएर घुसमा मोलमोलाई गरेको उजुरी परेपछि परिसर र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनीमाथि निगरानी बढाएको थियो । गोप्य अनुसन्धान गर्दा १५ हजार घुस लिएको पाइएपछि शर्मालाई जिम्म्वोरी मुक्त गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी परिसरका प्रमुख एसएसपी अशोक सिंहले दिए।