बगदाद | अमेरिकी सेनालाई इराकबाट तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै राजधानी बगदादमा हजारौँले प्रदर्शन गरेका छन् ।इरानी क्वाद सेनाका पूर्व जनरल कासिम सुलेमानीको हत्याको एक वर्ष पुगेको स्मरणमा भेला भएका इराकीहरुले अमेरिकी सेनाको विरोध गरेका हुन् ।
अमेरिकाले आंशिक रुपमा आफ्ना सेना फिर्ता लैजाने प्रक्रिया सुरु गरे पनि अझै ठूलो संख्यामा अमेरिकी सेना इराकमा तैनाथ छन् । प्रदर्शनकारीले भने बाँकी रहेका सेनालाई पनि तत्काल फिर्ता लैजानुपर्ने माग गर्दै प्रदर्शन निकालेका हुन् ।
२०१९ को जनवरी ३ मा अमेरिकी हमलाबाट मारिएका सुलेमानीको स्मरण गर्दै यही आइतबार जनवरी ३ का दिन हजारौंले बगदादमा प्रदर्शन गरेका हुन् । गत वर्ष यही दिन अमेरिकी हवाइ हमलाबाट सुलेमानीसँगै इराकी सैन्य नेता अबु महदी अल मुहान्डिस पनि मारिएका थिए ।
उनीहरुको स्मरणमा भेला भएका प्रदर्शनकारीहरुले विशाल र्याली निकालेको स्थानीय मिडियाले जनाएका छन् । उनीहरुको प्रदर्शनका कारण बगदादस्थित राजमार्ग नै अवरुद्ध भएको थियो ।
गत वर्ष सुलेमानीको हत्यापछि अमेरिका र इरानबीच व्यापक तनाब बढेको हो । त्यसै हत्यापछि सुरु भएको दुई देशको द्वन्द्व एक वर्षसम्म पनि मत्थर भएको छैन । बरु इरान र अमेरिकाबीच कुटनीतिक सम्बन्ध थप बिग्रिँदै गएको छ ।