वीरगंज। विश्वमा कोरोना महामारी सुरु भएको १ वर्ष पूरा भएको छ । तर, यसको असर भने घातक देखिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको वुहान शहरबाट सुरु भएको संक्रमणले विश्वलाई नै आक्रान्त पारेको छ ।
महामारीका कारण लाखौँ लाख संक्रमित र लाखौंको मृत्यु भएको छ । तर, सन् २०२० को अन्त्यतिर आएर केही मुलुकमा कोरोनाको खोप सर्वसाधारणले लगाउन थालिसकेकाले नयाँ वर्ष सन् २०२१ मा भने कोरोना मारबाट विश्व मुक्त हुने हो कि भन्ने आशा जगाएको छ ।
मानव समुदायले विभिन्न कालखण्डसँगै विभिन्न किसिमको महामारी भोग्दै आएको देखिन्छ । महामारीमा लाखौं लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकहरूले देखाएका छन् । सन् २०२० पनि विश्व समुदाय मानिसदेखि मानिससँगै डराउनु पर्ने अवस्थाको महामारीसँग जुध्न पुग्यो, कोरोना महामारीसँग । र यो क्रम अझै जारी छ ।
महामारीको मारबाट पूरै विश्व थलियो । ठूलो मानवीय क्षति र अर्थव्यवस्थामाथि पनि ठूलो संकट यही महामारीका कारण आइलाग्यो । महामारीका कारण हालसम्म ८३ लाख भन्दा बढी व्यक्तिमा संक्रमण र १८ लाख १२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोना महामारीबाट विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका बढी आक्रान्त बन्यो । अमेरिकामा २० लाख भन्दा बढी व्यक्ति संक्रमित र ३ लाख ५० हजार बढीको व्यक्तिको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारत सबैभन्दा बढी संक्रण हुने मुलुकको दोस्रो नम्बरमा रह्यो । भारतमा १० लाख व्यक्तिमा संक्रमण देखिसकेको छ भने १ लाख ४८ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । नेपालमा समेत २ लाख ५० हजार माथि व्यक्तिमा संक्रमण देखिसकेको छ । यहीबीच बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएबाट यसले केही चिन्ता भने थपेको छ ।
महामारी फैलिएको करिब १० महिनापछि भने कोरोनाको खोप बनेको सुखद समाचार आयो । अमेरिकामा फाइजर र बायोनटेनको संयुक्त रुपमा बनाएको खोप र मोर्डर्नाको अर्को खोप आम सर्वसाधारणको प्रयोगमा ल्याइयो भने रुसले पनि आफूले विकास गरेको स्पुतनिक–पाँचौं खोप लगाउन सुरु गर्यो । चीनले बनाएको खोप विभिन्न मूलुकले प्रयोगमा ल्याए । वर्षको अन्त्यमा बेलायत पनि खोप विकास गर्न सफल बन्यो ।
कोरोना विरुद्धको खोप प्रयोगमा आएसँगै २०२१ मा भने संक्रमण कम हुँदै जाने विज्ञहरूको अनुमान छ । कोरोना महामारीमाथि विजय प्राप्त गर्न विकसित खोपहरू धनी गरिब सबै मुलुकले प्राप्त गर्न सक्ने अवस्था निर्माण गर्न भने जरुरी छ । यसले नै नयाँ वर्ष २०२१ कोरोना महामारी अन्त्य वर्ष बन्छ वा बन्दैन भन्ने निक्र्यौल गर्नेछ ।