वीरगंज | बिदाई भनौ या स्वागतम, जाँदैछ सन् २०२० अनि आयो सन् २०२१, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२१ को स्वागत गरिँदैछ ।
सन् २०२० एउटा विषम र कठिन वर्ष थियो । सारा विश्वलाई लकडाउनमा राखेर एक तिहाई विश्व नै घरका छतमुनी धेरै महिनासम्म बस्नुपरेको यस वर्षलाई दोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रुपमा लिइएको छ । विश्व अझै पनि भाइरसका बिभिन्न संस्करणहरुको प्रभावमा छ, कतिपय देशहरु अझै खुलेका छैनन, कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरु सुधारउन्मुख छन् ।
सेनाहरु भन्दा सेता कोटहरुले , हतियारगृह भन्दा अस्पतालले देशवासीको जीवन सुरक्षा हुन्छ भन्ने तथ्य यस वर्षले प्रमाणित गरिदिएको छ । यस वर्षले विश्वलाई डिजीटल थलोहरु तर्फ डोहोर्याएको छ, अब मानविय अंगालोहरु च्याटबोर्डका ईमोजिहरुले प्रतिस्थापन गरेको छ । भींडहरु अब डिजीटल थलोमा बढ्न थालेको छ अनि डिजीटल थलोमा मानवको प्रवेश यस वर्ष जति अन्य कुनै वर्षमा भएको थिएन ।सन् २०२० ले पछिल्ला शताव्दीभरिमा हुन नसकेका रुपान्तरणहरु एकैवर्षमा गरिदिएको छ । यस वर्षले नयाँ र नर्मल विश्वको परिकल्पना दिएर गएको छ । नर्मल वर्षहरुको प्रतिक्षाको व्यग्रता यस वर्षले झनै बढाएर गएको हो ।
जिन्दगीलाई अनुभव र यादहरुको डोको रुपमा लिन सकिन्छ, हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँउदछ । हुन त हामी नेपालीहरुको क्यालेन्डर देखि चाडवाड अनि कार्यलयगत कुराहरु धेरैजसो विक्रमसंबतमा आधारित भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवतका रुपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय सँस्थाहरुमा काम गर्ने लगायत अन्तराष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकाले यो संवतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता छ । भनिन्छ नि, शुभकार्य र शुभकामना दिन ढिलाई गर्न हुँदैन भनेर तसर्थ छिटो छिटो गरेर हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताहरुलाई यस २०२१ सालको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहन्छ । बिसं भने ईस्वी संवत भन्दा ५७ बर्षले अगाडी छ र जनावरी फेवरुवरि जस्ता १२ महिनाहरुले बर्ष दिनको घोतक गर्ने ईस्वी संवत हो भने बिक्रम संवतमा हाम्रा वैशाख, जेष्ठ जस्ता १२ महिनाहरु हुन्छन् भन्ने त हामीलाई थाहै छ ।
हामीमध्य धेरैलाई फूर्सतिलो बनेर केहीवेर सोचाईमा अलमलिएर गएको बर्षको समिक्षा गर्न मन लागेको हुनपर्दछ, केहीबेर सोचौँ न कस्तो रह्यो त सन् २०२० हाम्रो लागी ? के कस्ता उतारचढावहरु जिवनमा आए ? कसरी सामना गरियो ? के के कुराहरु लिएर अनि कस्ता कस्ता कुराहरु दिएर गयो त यो गएको बर्ष ? अनि अब आउने बर्षमा के कस्ता योजनाहरु, प्रक्रियाहरु, धारणाहरु तपाईले अवलम्बन गर्ने चाह राख्नुभएको छ ?
हरेक नयाँ बर्षहरुमा हामी केही सोचाई या परिवर्तन गर्ने चाह राख्दछौ तर ती धेरै जसो चाहहरु अनि वाचाहरु त्यतिकै तुहिएर जाने पनि गर्दछन्, यस बर्षको सकारात्मक सोच अनि प्रगतीका लावालस्करहरु तपाईको पाईला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरुमै निशाना लागोस् ।
यो बर्षभरिको हतारो सँगै, विस्मात र आश्चर्यसँगै, मिलन र विछोडसँगै अनि संभावनाका संवाहकहरुसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त विर्सनुभएको छैन रु एकफेर सोचौँ है, जिवनको मुलभुत उदेश्य र हरेक दिनको एउटामात्र निश्चय भनेको चाँही हाम्रो मुहारमा एउटा मिठो मुस्कान हो ।यस बर्षमा हाम्रा हाँसो अनि मुस्कानहरु उधारोमा नजाउन्, हरेक अवसरहरुलाई उत्साहका साथ मनाउन पाईयोस अनि दुख्खनै लेखेको छ भने पनि सामना गर्ने साहस होस् । बर्षहरु सँगै हामीपनि परिवर्तन भईरहेका छौ, जिवनका आयामहरु पनि परिवर्तनशील छन्, सन् २०२१ ले यी परिवर्तनका आयामहरुलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ, हैन त ? कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस्, यूवा पुस्ताका साथीहरु हुनुहुन्छ र कसैलाई आफ्नो मायाको उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भनेँ यो बर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्तगर्ने सामथ्र्य दियोस है , कि कसो ?
पुराना दिनमा पोष्कार्डहरु साटासाट गर्दा लेखेर नयाँ बर्षका शुभकामनाहरु साटासाट गर्ने चलन अब त नेपालमा इन्टरनेटमा म्यासेज र च्याटले प्रतिस्थापन गरिसकेको छ । बर्षैपिच्छे प्रविधी अनि पहुँचमा नेपालले फड्को मार्दे छ, अबका बर्षमा पुराना अनि नयाँ दुबै चलनको निरन्तरता होस् । सातै प्रदेशका हिमालका हिँउ, पहाडका चुचुरा अनि तराईका हरिया फाँटहरुमा नेपालीपनाको महत्व झल्किरहोस् । २०२१ सालमा, सपनाहरु साँच्न पाईयोस अनि तिनलाई पूरागर्न अगाडी बढ्ने अवसरहरु पाईयोस्, पसिनाको मुल्य पाईयोस् अनि अटल मुस्कानले नेपाली अनुहारहरु शोभायमान बनाईरहोस् है ।