वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता सरकारले वितरण गरिसकेको जनाएको छ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि मन्त्रालयले आवश्यक रकम निकासा गरी कोभिड-१९ अस्पतालहरुलाई वितरण गरिसकेको स्पष्ट पारेको हो ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश-२०७७ बमोजिम जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रकम निकासा भइ वितरण भइसको स्पष्ट पारेको छ ।
कोभिड-१९ अस्पतालहरुलाई संक्रमितको उपचार गरेबापत प्रतिबिरामी प्रतिदिनका हिसाबले असोज मसान्तसम्मको ६६ करोड ७७ लाख ३५ हजार रुपैयाँ समावेश गरी निकासा गरिसकको मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले जनाएका छन् । यही रकमभित्र जोखिम भत्ता समावेश भएको उनले स्पष्ट पारेका छन् ।
कात्तिक महिनाको रकम भने निकासा गर्ने चरणमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म जोखिम भत्ता कर्मचारी तथा स्वास्थ्यकर्मीलाई वितरण नगर्ने कोभिड-१९ अस्पतालहरुलाई मन्त्रालयले तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।