वीरगंज | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डीडीसीमा म्याद गुज्रिएको बटर भेटिएको स्वीकार गरेको छ ।विभागले मङ्गलबार नै अनुगमनका लागि टोली पठाएको र टोलीले गुणस्तर मापनका लागि नमुना सङ्कलन गरी बुधबार परीक्षण गर्ने विभागका सहप्रवक्ता सन्तोष दाहालले जानकारी दिनुभयो । उहाँले दोषी पाइए डीडीसीलाई कारबाही प्रक्रिया थाल्ने बताउनुभयो ।
यसअघि उपभोक्ता अधिकारकर्मीसहित काठमाण्डौ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा भएको अनुगमनमा एक लाख ९४ हजार ६ सय किलो म्याद गुज्रेको बटर भेटिएको थियो ।
यस्तै लेबल नभएका कार्टुनमा बटर राखेको र केही कार्टुनमा लेबल भए पनि म्याद सकिइसकेको भेटिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।डीडीसीको बटर बजारमा प्रतिकिलो आठ सय ५० रुपैयाँ पर्छ । यही हिसाबले एक लाख ९४ हजार ६ सय किलो बटरको मूल्य १६ करोड ५४ लाख भन्दा धेरै हुन्छ ।