दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको अंक तालिकामा शीर्षस्थानमा पुगेको छ। आइतबार राति भएको खेलमा मुम्बईले एक सय ६३ रनको लक्ष्य दुई बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो।
मुम्बईको पालीमा क्विन्टन डे कोक र सुर्यकुमार यादबले ५३/५३ रन जोडे। इसन किसनले २८ रन बनाए। यादब र डे कोकले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। त्यसपछि किसन र यादबबीच ५३ रनको साझेदारी भयो।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो।
दिल्लीको पालीमा शिखर धवन एक्लैले ६९ रन जोडे। श्रेयस अय्यरले ४२ रन बनाए। अय्यर र धवनबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी भएको थियो।
धवनले ५२ बलमा एक छक्का र ६ चौका प्रहार गरे। मुम्बईका कुनाल पाण्ड्याले दुई र ट्रेन्ट बोल्टले एक विकेट हात पारे। ७ खेलपछि दुवै टोलीको समान १० अंक भएपनि नेटरनरेटमा मुम्बईले दिल्लीलाई पछाडि धकेलेको हो।