सद्भाव र सहिष्णुताका प्रतीक गान्धीको आजको भारतले धर्मान्धतालाई समाप्त पारिरहेको छ या बढाइरहेको छ ? आफूलाई उदार बनाइरहेको छ या अझ कट्टर बनाइरहेको छ ? प्रश्न अहं छ ।
३० जनवरी, १९४८ मा भारतको राजधानी दिल्लीस्थित आफ्नो आश्रममा साँझ प्रार्थना गर्न निस्किंदै गर्दा हिन्दू अतिवादी नाथुराम गोड्सेले चलाएको गोलीबाट मोहनदास करमचन्द गान्धीको निधन भयो । अहिंसालाई जीवन–दर्शनको रूपमा अँगालेका र कर्मले ‘महात्मा’ उपनाम पाएका गान्धी स्वयम् हिंसाकै शिकार भई मृत्युवरण गर्नु ठूलो विडम्बना थियो ।
अहिंसा र सद्भाव, गान्धीको जीवनका सार थिए । तर, राजनीतिमा निरपेक्ष अहिंसा र सद्भाव कति सम्भव भन्नेमा दार्शनिक रूपमै गम्भीर मतभेद छन् ।
किनभने, जब हामी राज्यको अवधारणामा जान्छौं, यो आफैंमा हिंसाको साधन हो । सेना, प्रहरी, बन्दूक, संविधान, ऐन, कानून, नियम, अड्डा–अदालत— सबै बल प्रयोगका साधन हुन्, राज्यलाई बल प्रयोग गर्ने वैधानिकता प्राप्त छ ।
हिंसाको जन्म बल प्रयोगबाटै हुने हो । तर, यो बल प्रयोगलाई आधुनिक शासन प्रणालीले शिष्ट, सभ्य, मर्यादित र सीमायुक्त बनाएको छ । त्यसैले गान्धीको ‘रामराज्य’ को भौतिक रूपमा सम्भव नदेखिए पनि यसले एउटा आदर्शका रूपमा भने आफूलाई उभ्याएको छ । अर्थात् कल्पना नै सही, गान्धीले एउटा आदर्श राज्यको मानक छाडेर गएका छन् ।
जिन्नाह र गान्धी । तस्वीरहरु: एजेन्सी
गान्धीको शक्ति
गान्धीका अनेक मत छन्, जोसँग सहमत हुन सकिन्न । तर, पनि उनी बीसौं शताब्दीका एक महान् व्यक्तित्व हुन्, जसले भारत जस्तो विविधता, जटिलता र संवेदनशीलता भएको मुलुकबाट अंग्रेजलाई रक्तपातविहीन आन्दोलनका माध्यमबाट हटाउने नेतृत्व गरे ।
कुनै एक जाति, धर्म, समुदाय वा भौगोलिक अवस्था नरहेको भारतमा करोडौं मानिसलाई एकसाथ परिचालन गर्न सक्ने असाधारण नेताका रूपमा गान्धीलाई सम्भवतः कसैले प्रतिस्थापन गर्न सक्ने छैन ।
वस्तुले चेतनाको निर्माण गर्दछ भनेझैं युगको ठोस अवस्था र त्यसलाई व्यवहारमा लागू गर्ने आवश्यकताले नै नेता जन्माउँछ । भारतमा आधिपत्य जमाएको अंग्रेजलाई लखेट्न जुन नेतृत्वको आवश्यकता थियो र परिस्थितिले जे माग गरेको थियो, त्यसैका लागि गान्धीको उदय भएको थियो ।
स्वतन्त्रता त अरू तरिकाबाट पनि प्राप्त हुन्थ्यो होला । तर, गान्धीले जुन प्रकारले शान्तिपूर्ण रूपमा भारतीयहरूलाई आन्दोलनका लागि जगाए, त्यसले विश्वमै नयाँ सन्देश र बाटो देखायो ।
अंग्रेजका विरुद्ध ‘पूर्ण स्वराज’ को माग गर्दै गान्धी नेतृत्वको सत्याग्रह र अवज्ञाको अहिंसात्मक आन्दोलन कुनै तोप–गोलाभन्दा कम शक्तिशाली सावित भएन । परिणामतः कुनै समय संसारमा ‘घाम नअस्ताउने’ भनेर कहलिएको बेलायती साम्राज्यका साथै फ्रेन्च, डच, पोर्चुगिज आदि विशाल साम्राज्य आज इतिहास बनेका छन् ।
त्यसैले पनि गान्धीलाई विश्वका साम्राज्यवाद विरोधी नेताहरूमध्ये अग्रणी स्थानमा राखेको छ । आज कुनै पनि प्रकारको वैदेशिक हस्तक्षेप र साम्राज्यवादी नीति विरुद्ध लड्न गान्धी सबैका प्रेरणा स्तम्भ बनेका छन् ।
यतिसम्म कि पहिला फ्रान्सेली साम्राज्य र पछि अमेरिकीसँग सशस्त्र संघर्ष गरेर भियतनामलाई स्वतन्त्रता दिलाउने हो चि मिन्हले समेत गान्धीको खुलेर प्रशंसा गरेका छन् ।
त्यसो त अर्को पक्ष कुन रूपमा प्रस्तुत हुन्छ भन्ने कुुराले पनि संघर्षको स्वरुप निर्धारण गर्दछ । सम्भवतः बेलायतमा विन्स्टन चर्चिल पराजित भएर लेबर पार्टी सत्तामा नआएको भए भारतीय स्वतन्त्रता आन्दोलन त्यति सजिलै सफलतामा पुग्ने थिएन कि भन्ने विश्लेषण पनि गरिन्छ ।
अंग्रेजहरूका लागि एकीकृत भारतमा जति धेरै हुलदंगा, लडाइँ, मारकाट हुन्थ्यो, त्यति नै फाइदा हुन्थ्यो । भारतीयहरू आन्तरिक द्वन्द्वमा फँसून् र आफ्नो सत्ता सुरक्षित गर्न सकियोस् भन्ने उनीहरूको चाहना मात्र थिएन, रणनीति नै थियो ।
हिन्दू र मुस्लिमबीच गहिरो विभाजन रहेको भारतमा अलिकति परिस्थिति भड्किनासाथ हिंसाले फणा उठाइहाल्थ्यो । मोहम्मद अलि जिन्नाहले मुस्लिम लिग खोलेर अल्पसंख्यक मुस्लिमहरूको मात्रै पार्टी बनाइरहेका बेला बहुसंख्यक हिन्दूहरू पनि उत्तेजित बनिरहेका थिए । त्यस्तो बेलामा जन्मले आफू हिन्दू हुँदाहुँदै पनि गान्धी धर्म र त्यसको राजनीतिबाट माथि उठे ।
आफ्नो कुनै उपाय नलागेपछि धर्मकै आधारमा मुलुक विभाजन हुँदा पनि त्यसबाट कमभन्दा कम क्षति होस् भन्नेतर्फ गान्धीले हरप्रयत्न गरिरहे । मुलुक विभाजन नहुने हो भने मोहम्मद अलि जिन्नाहलाई भारतको प्रधानमन्त्री समेत बनाउन सकिन्छ भनेर उनैले भायसराय लर्ड माउन्टबेटनसमक्ष प्रस्ताव राखेका थिए ।
तर, गान्धीले आफ्नो यो प्रस्तावमा जिन्नाह मात्र होइन, भारतीय राष्ट्रिय कंग्रेसलाई पनि मनाउन सकेनन् र भारत दुई देशमा विभाजन भयो । यसबाट के देखिन्छ भने हिन्दू–मुस्लिम मिलेर बनेको भारत यी दुवै मिलेर अघि बढ्दा मात्रै सफल हुन्छ भन्ने धारणा गान्धीमा रहेको थियो ।
गान्धी र गाेड्से ।
समानताका पक्षपाती
गान्धी आमूल परिवर्तनमा नभएर क्रमिक सुधारमा विश्वास राख्ने नेता थिए । क्रमशः पूरै समाज सुधार्न सकिन्छ भन्ने विश्वास अनुसार नै उनले आफूलाई अभ्यस्त गर्दै आएका थिए ।
स्वदेशी वस्तुको प्रयोग उनका लागि लहड मात्र थिएन, भारतलाई आफ्नो खुट्टामा उभ्याउने अभियान थियो । महिला शिक्षामा गान्धीका प्रेरणादायी कामहरूले देशलाई समानताको दिशामा लैजान ‘कोसेढुंगा’ को काम ग¥यो ।
कलंकका रूपमा रहेको जातीय छुवाछूत हटाउन गान्धीका कतिपय कदम ऐतिहासिक छन् । उनले ‘अछूत’ भनिनेहरूलाई ‘हरिजन’ थरमा बदल्ने मात्र होइन, अन्य थुप्रै अभियान पनि चलाए । यद्यपि, गान्धीको यो तरिकासँग डा. भीमराव अम्बेडकर लगायतका नेताहरू सहमत भएनन् । तर पनि दलित आरक्षणको जुन व्यवस्था गरियो, त्यसको आधार गान्धी नै हुन् भन्दा फरक पर्दैन ।
सामाजिक सुधारका लागि गान्धीले चालेका कदमबाट भारत सबैको उत्तिकै अधिकार भएको साझा घर हो भन्ने सन्देश प्रवाह भएको थियो । जातीय, वर्गीय र लैंगिक आधारमा हुने शोषण, दमन र थिचोमिचो हटाउन गान्धी सदैव लागिपरे ।
‘गान्धीः द इअर्स द्याट चेञ्ज द वल्र्ड (१९१४–१९४८)’ पुस्तकमा रामचन्द्र गुहाले लेखे जस्तै गान्धीको जीवनलाई सूत्रबद्ध गर्दा प्राप्त हुने निष्कर्ष हुन्ः सत्याग्रह, अन्तरधार्मिक सहिष्णुता, वातावरणीय उत्तरदायित्व, अंग्रेजी साम्राज्यको अत्य, छुवाछूतको अवैधानिकीकरण र धेरै मात्रामा सत्यको सफल परीक्षण । भिन्न सोच, भिन्न जीवनशैली र भिन्न अभ्यासका कारण मानिसहरूका मनमा भिन्न स्थान बनाउन सफल गान्धी एक यस्ता युगपुरुष हुन्, जसको नाम निकालिदिने हो भने भारतीय स्वतन्त्रता संग्रामको इतिहासको त कल्पना गर्न सकिन्न, शताब्दीकै प्रभावशाली व्यक्तिहरूको सूची पनि अपूरो हुन्छ ।
नेपालमा जन्मिएका गौतम बुद्धपछि यस हिमाली उपमहाद्वीपबाट सम्भवतः विश्वमै बढी चिनिएका व्यक्ति हुन्, गान्धी ।
अहिंसा र आजको भारत
संयुक्त राष्ट्रसंघले उनको जन्म दिन २ अक्टोबरलाई ‘अन्तर्राष्ट्रिय अहिंसा दिवस’ का रूपमा स्वीकार गरेर गान्धीको महत्वलाई विश्वसामु थप उजागर गरेको छ । यसले गान्धीलाई विश्वव्यापी नेताका रूपमा स्थापित गर्नुका साथै आजको पुस्तामा स्मरणीय बनाइरहन मद्दत पनि गरेको छ ।
गान्धीलाई एकातिर भारतबाट अंग्रेज धपाउनु थियो भने अर्कातिर हिन्दू–मुस्लिम सौहार्दता कायम राख्नु थियो । हुनसक्छ यही उद्देश्य हासिल गर्न बीचको बाटो खोज्ने क्रममा उनलाई अहिंसात्मक आन्दोलनले तानेको हुनुपर्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी ।
हजारौं स्वतन्त्रताप्रेमीको निर्मम हत्या गर्दै जरा गाडेर बसेको अंग्रेजी साम्राज्यलाई सशस्त्र प्रतिकार गरेरै भारतबाट लखेट्नुपर्छ भन्ने भावना भारतीयहरूमा नभएको होइन । सुवासचन्द्र बोसको ‘आजाद हिन्द फौज’ र भगत सिंहहरूले बलिदानी यत्तिकै दिएका थिएनन् ।
यहाँनेर बुझ्नुपर्ने कुरा– संवेदनशील सामाजिक बनोट रहेको भारतमा आन्दोलन अलिकति हिंसात्मक हुने हो भने त्यसले कति चर्को मूल्य चुकाउनुपर्छ भन्ने अनुमान सम्भवतः गान्धीलाई अरूभन्दा बढी थियो । आन्दोलन अहिंसात्मक हुँदाहुँदै त भारत–पाकिस्तान विभाजनमा लाखौंले ज्यान गुमाएका र करोडौं घरबारविहीन भएका आँकडा छन् भने कल्पना गरौं– आन्दोलन सशस्त्र भएको भए स्थिति कति भयावह हुन्थ्यो होला !
आश्चर्य त १५ अगस्ट, १९४७ अर्थात् स्वतन्त्र भारत घोषणा भएको दिनका पुस्तकहरू पढ्दा, उपलब्ध सीमित दृश्य र पत्रपत्रिकाहरू केलाउँदा त्यस ऐतिहासिक क्षणमा स्वतन्त्रता आन्दोलनका प्रमुख हस्ती गान्धी भेटिन्नन् । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले दिल्लीको लालकिल्लामा तिरंगा फहराएर विश्वको मानचित्रमा फेरबदल ल्याएको त्यो घटनाको वर्णन पढिरहँदा मनमा खट्किन्छ– यति ठूलो समारोहमा गान्धी किन अनुपस्थित ?
तर, इतिहासका पाना पल्टाउँदै जाँदा भने बडो सन्तोषजनक उत्तर भेटिन्छ– गान्धीका लागि त्यसभन्दा महत्वपूर्ण काम बाँकी नै रहेछ । बंगालमा भड्किएको हिन्दू–मुस्लिम दंगा रोक्न अनशनका लागि उनी कलकत्ता पुगेका थिए ।
धर्मका आधारमा भारत र पाकिस्तान छुट्याउने घोषणा भएपछि त्यसले जन्माएको अस्तव्यस्तता, अराजकता र हिंसाबाट व्यथित गान्धी बंगाललाई शान्त बनाएर नफर्किंदै दिल्लीलाई पनि साम्प्रदायिक हिंसाको आगोले लपेटिसकेको थियो । एकातिर टाल्यो, अर्कोतिर चुहिने कहालिलाग्दो अवस्थालाई नैतिक बलका आधारमा नियन्त्रण गर्ने कोशिश गर्दागर्दै आफैं हिंसाकै शिकार भए ।
गान्धीका विचार कति व्यावहारिक छन् र भारतमै कति अवलम्बन भइरहेका छन् ? आणविक शक्तिसम्पन्न राष्ट्र भइसकेको भारतले आफूभित्र सहिष्णुता, सद्भाव र विविधतालाई बढावा दिइरहेको छ या खुम्च्याइरहेको छ ?
धर्मको आधारमा देश विभाजन भोगिसकेको भारतले आज धर्मान्धतालाई समाप्त पारिरहेको छ या बढाइरहेको छ ? सद्भाव र सहिष्णुताका प्रतीक गान्धीको भारतले आफूलाई उदार बनाउँदै लगिरहेको छ या थप कट्टर बनाइरहेको छ ?
गान्धी जयन्ती मनाइरहँदा भारतमै पनि यी प्रश्नहरूमाथि बहस भइरहेको छ, जसको सरोकार हामीलाई पनि छ, हाम्रो देशको राजनीति र समाजलाई पनि छ ।