बिरगंज । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्य वृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन्।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन्।
सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मुल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताए।
नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उनले बताए। सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताए।
मुल्य वृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने र अस्वभाविक रुपमा मुल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। सांसद सुजाता परियारले अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताइन्।
समिति सभापति विमल प्रसाद श्रीवास्तवले मुल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताए।
समितिले छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मुल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ।