विराटनगर | प्रदेश राजधानी विराटनगरमा ४२ सहित प्रदेश १ मा आइतबार कोरोना भाइरसका ७० जना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा नौ र प्रदेश १ बाहिरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा आइतबार ४२ जना संक्रमित थपिएकामा १८ महिला र २४ पुरुष छन् । मोरङको बूढीगंगाका चार महिला, एक पुरुष, केराबारीका दुई र स्थानीय तह नखुलेका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा एक महिला, दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, बिर्तामोडमा दुई महिला, कनकाइमा एक महिला, गौरादहमा दुई पुरुष र स्थानीय तह नखुलेका एक पुरुषमा कोरोना देखिएको छ । सुनसरीको इटहरीका एक महिला आठ पुरुष तथा प्रदेश १ बाहिरको धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा आइतबार आठ सय पाँच जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण भएकोमा ७० जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार छ सय ५९ पुगेको छ ।
प्रदेश १ मा आइतबार उपचारपछि कोरोना जितेर २५ जना डिस्चार्ज भएका छन् । कोभिड– १९ आइसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड–१९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट तीन जना डिस्चार्ज भएका हुन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार दुई सय ६७ पुगेको छ । हाल सम्म ७७ हजार एक सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।