वीरगञ्ज । वीरगञ्ज हेल्थकेयरबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गण्डकस्थित हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार उनीहरुको पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
नारायणी अस्पताल अन्तर्गत स्थापना गरिएको १२० बेड क्षमता भएको कोभिड अस्पतालबाट डिस्चार्ज हुनेमा २७ जना पर्साका र एकजना बाराका छन् ।
अन्नपूर्ण पोष्ट दैनिक र नारायणी एफएममा कार्यरत वीरगञ्ज–१० घडिअर्वा बस्ने ३९ वर्षीय पत्रकार क्रान्ति साहसहित २८ जना कोरोनामुक्त भई घर फर्किएको अन्सारीले जानकारी दिए ।उनका अनुसार सखुवाप्रसौनी गाउँपालिका–२ का अढाई वर्षको बालकले पनि कोरोना जितेका छन् । डिस्चार्ज हुनेमा सखुवाप्रसौनी–२ कै ३५ वर्षीया महिला र सखुवाप्रर्सौनी–४ का ३३ वर्षीय पुरुष छन् ।वीरगञ्ज–११ श्रीपुरका ६०, ४५, ६०, ३८, ४८, २६, ३१, र ३० वर्षीय पुरुष तथा ४५, १८ र ४५ वर्षीया महिला, वीरगञ्ज–११ रानीघाटका १८ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् ।
त्यसैगरी वीरगञ्ज–२२ मनीयारीका ३० वर्षीय पुरुष, वीरगञ्ज–२५ सिर्सियाका २९, २७, ६५, ३१, २५ वर्षीय पुरुष, वीरगञ्ज–१६ नगवाका ४६ वर्षीय पुरुष, वीरगञ्ज–१३ श्रीपुरका ४९ वर्षीया महिला, वीरगञ्ज–१३ रानीघाटका २६ वर्षीय पुरुष र वीरगञ्ज प्रतिमा चोकका ३२ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएका छन् ।बाराको आदर्शकोतवाल गाउँपालिका–६ का २५ वर्षीय पुरुषले कोरोना जितेको नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरले जनाएको छ ।१ सय २० बेड क्षमताको कोभिड अस्पतालमा २५ बेड आईसीयु छ । २८ जना डिस्चार्ज भएपछि १६ जना आईसीयुका सहित अस्पतालमा ७९ जना उपचाररत छन् ।