वीरगंज। सरकारले लकडाउन खुलेपछि कोरोना संक्रमणको दर बढेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार ०.८ प्रतिशतले कोरोना संक्रमणको दर बढेको छ । लकडाउन अगाडिको ११ दिनमा सरकारले ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३४५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
लकडाउन खुलेको ११ दिन (साउन ७ देखि १७ गतेसम्म) ५८ हजार १७४ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ९२ मा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तथ्यांक अनुसार ०.८ प्रतिशतले संक्रमित दर बढेको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ छ ।