वीरगंज | क्वारेन्टाइनमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको शनिबार बिहान क्वारेन्टाइनमा रहेका वेला एकाएक मृत्यु भएको हो ।
दुल्लु–७ स्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाइनमा बस्दै आएका उनी शनिबार बिहान एकाएक लडेका थिए । बिहान ७ बजे ढलेर बेहोस भएका उनको केहीबेरमै मृत्यु भएको दुल्लु अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालकी प्रमुख डा. पूजा बिसीले बताइन् । ‘मृत्यु भएपछि स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थियौँ ।
कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ,’ डा. बिसीले भनिन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । उनी १० दिनअघि भारतबाट आएका थिए । भारतबाट आएका ७९ जनासँगै उनलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । कोरोना परीक्षणका लागि तीन दिनअघि स्वाब संकलन गरिएको थियो ।
दुल्लु अस्पतालले स्वाबको नमुना प्रादेशिक अस्पताल सुर्खेत पठाएको थियो । सुर्खेतले स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । त्यसको अझै पनि रिपोर्ट आएको छैन । रिपोर्ट आउन ढिलो हुँदा उपचार नपाएर उनको ज्यान गएको उनीसँगै क्वारेन्टाइनमा बसिरहेकाहरूको गुनासो छ । ‘समयमै रिपोर्ट आएर उपचार पाएको भए उनको ज्यान जाने थिएन,’ क्वारेन्टाइनमा बसिरहेका एकजनाले गुनासो गरे ।
उनको एक्कासि मृत्यु भएको मेयर घनश्याम भण्डारीले बताए । ‘बिहान चिया खानेवेला भेटेर कुराकानी गरेका थियौँ । क्वारेन्टाइनबाट फर्किँदै गर्दा मृत्यु भएको खबर सुन्यौँ,’ मेयर भण्डारीले भने, ‘त्यसपछि सुरक्षा सतर्कता बढाएका छौँ ।’ उनको शव समातेका र उनीसँगै क्वारेन्टाइनको कोठामा बस्नेलाई छुट्टै राखिएको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. बिसीले बताइन् ।