वीरगञ्ज ।नारायणी अस्पतालमा संक्रमितको चाप बढेपछि अस्पतालमा नअटाएकाहरुलाई विद्यालयको आइसोलेसन राखिएको थियो ।कोभिड अस्पताल सञ्चालनका लागि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले शनिबार नै हस्पिटलको साँचो नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।
वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालले बिहीबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको छ ।सिद्धार्थ माविको आइसोलेसनमा रहेका २५ जना संक्रमितलाई ल्याएर उपचार सुरु गरिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।कोभिड अस्पताल सञ्चालनको जिम्मेवारी पाएसँगै नारायणी अस्पतालले डा. सिंहलाई कोअर्डिनेटर तोक्दै आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन मिलाएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालबाट पुनः जनरल सेवा सञ्चालन गरिने भएपछि गण्डक हस्पिटललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय भएको थियो ।गण्डक अस्पतालबाट संक्रमितको उपचार गराउन नारायणी अस्पतालले ढिलाइ गरेपछि आलोचना समेत हुन थालेको थियो ।तर नारायणी अस्पतालले भने आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन मिलाउँदा ढिलाइ हुन गएको बताएको छ ।
‘भौतिक संरचनाले मात्र अस्पताल सञ्चालन हुने कुरा आएन,’ डा. सिँहले भने, ‘अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, सञ्चालनको स्रोत तथा साधनको पनि आवश्यक हुन्छ । त्यसैको व्यवस्थापन मिलाउँदा ढिलाइ भएको हो ।’७० बेडको आइसोलेसन वार्ड भएको कोभिड अस्पताल सञ्चालनमा लाग्ने सम्पूर्ण खर्च भने महानगरपालिकाले व्यहोर्ने छ ।