कपिलवस्तु | जिल्ला अस्पताल तौलिहवामा कार्यरत महिला स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा यसअघि २१ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा कुल २९ जना कोरोना संक्रमित भएका छन् ।
आज दिउँसो स्वास्थ्य मंत्रालयबाट जारी गरिएको प्रेस वक्तव्यअनुसार कपिलवस्तु नगरपालिका वडा नं. १ की २५ वर्षीय महिलामा संक्रमण देखिएको पुष्टि भएको छ । उनी कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् ।
उनीसँगै कपिलवस्तु नगरपालिका अन्य थप ७ जना पुरुषहरु संक्रमित भएका छन् । वडा नं. ६ का १९ वर्षीय, वडा नं. ४ का २५ वर्षीय, वडा नं. ५ का ३६ वर्षीय, वडा नं. ३ का ३२ वर्षीय, वडा नं. ७ का १९ वर्षीय, वडा नं. ३ का २० वर्षीय, वडा नं. ८ का २५ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमित २१ जनालाई कोरोना अस्पताल बुटवल पठाइएको र नयाँ पुष्टि भएका ८ जनालाई पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाको पहिचान गरी स्वाब संकलन कार्य सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
‘सुरुमा कोरोना भाइरस पुष्टि भएकाको सम्पर्कमाम आएकाको स्वाब संकलन भइसकेको छ’, कार्यालय प्रमुख भगतले भने, ‘पछिल्लो समयमा संक्रमण पुष्टि भएकाहरुको संम्पर्कमा आएकाहरुको सूची संकलन गर्ने काम गरिरहेका छौं ।