वीरगंज । नेपालगन्ज उपमहानगरपालिकामा तीनदिन निषेधित क्षेत्र घोषणा गरिएको छ । सोमबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको थियो । मंगलबार बिहानदेखि २५ गते रातिसम्म पूर्णरुपले उपमहानगरपालिकाभर निषेधित क्षेत्र घोषणा गरिएको छ । सर्वदलीय बैठकले अर्को निर्णय नभएसम्मका लागि तरकारी मण्डी बन्द गर्ने निर्णयसमेत गरेको राससले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।
उपमहानगरसँग अन्य पालिकाले बढाए दूरी
कोहलपुर–कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् । दुई दिनमा मानिसमा कोरोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।
लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ ।
अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताए । रासस