चिकित्सकहरुले खुट्टाको औँलामा देखिने कोरोनाभाइरस (कोभिड–१९) को अनौठो लक्षण पत्ता लगाएका छन् । औँला बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने चिकित्सकहरुको भनाइ छ ।
छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोएज’ अर्थात ‘कोभिड औँलो” नामाकारण गरेका छन् । विशेषगरी कोभिड–१९ ले श्वासप्रश्वासको समस्या भएका युवाहरुमा एक मात्र लक्षणको रुपमा पनि देखिएको छ ।
अमेरिकाको नर्थवेस्टन युनिभर्सिटीको छालारोग विभागका प्रमुख तथा यस्तो लक्षणलाई कोभिड–१९ सँग जोड्न पहिलो चिकित्सकमध्येका एक डा. एमी पालेरले भाइरस शरीरमा प्रवेश गरेपछि छालाले प्रतिक्रिया देखाउनु अस्वभाविक नभएको बताएका छन् । उनी भन्छन्, “मैले यस्तो लक्षण ठूला भइसकेका केटाकेटीमा मात्र नभइ ११ वर्षदेखि कलेज उमेरका सम्ममा देखेको छु ।”
डा. पालेरले यो “प्रारम्भिक अवलोकन” भएको र लक्षणबारे निष्कर्षमा पुग्न सकिने गरी अनुसन्धान नभएको बताएका छन् । यसलाई कोभिड–१९ को भरपर्दो प्रमाण मानिहाल्न नसकिने बताएका छन् ।
यस्तो लक्षण देखिएका सबैको परीक्षणको रिपोट ‘पोजेटिभ’ नआएको हुँदा यी लक्षण सीधै कोभिड–१९ सँग सम्बन्धित भएको पुष्टि भएको छैन । डा. पालेरले भनेका छन्, “हामीले यो लक्षण थाहा पाउन एकदमै ढिला गरेका हुनसक्छौँ, अथवा संक्रमणको केही दिन मात्र भएकाले कोभिड–१९ परीक्षण पोजेटिभ नआएको हुनसक्छ । निको हुँदै गरेको लक्षण पनि हुनसक्छ । वास्तवमै हामीलाई अझै धेरै जानकारी थाहा भएको छैन ।”
कोभिड–१९ सँग जोडिएको यो नै पहिलो छालाको केस भने होइन । इटालीमा गत मार्चमा ८८ जना कोरोनाभाइरस संक्रमित हेरेका छालारोग विशेषज्ञले २० प्रतिशत बिरामीमा छालाको समस्या देखिएको रिपोट सार्वजनिक गरेका थिए । उनीहरुको छालामा रातो र चिरा परको दाग देखिएको थियो । यस्तो दाग आएपछि एकदम चिलाउने र छुँदा दुख्ने हुन्छ ।
डा. पालेरले छालामा हुने असर योभन्दा बढी हुनसक्ने भन्दै कोभिड–१९ सँग सम्बन्ध स्थापित गर्नुअघि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने बताएका छन् । अहिले चिकित्सकहरु कोभिड टोएजबारे जानकारी भएको र त्यसपछि के गर्ने भन्ने पनि जानकार भएको उनी बताउँछन् ।