रौतहट | नेपाल पत्रकार महासंघ रौतहट शाखामा आवद्ध क्रियाशील पत्रकारहरुले एक अनाथलयमा राहतस्वरूप खाद्यान्न सहयोग गरेका छन्। पत्रकार टोलीले रौतहटको गरुडा नगरपालिकास्थित रहेको श्रीबंशिराम जयसवाल अनाथालय गरुडालाई आइतबार खाद्यान्न सामग्री दिएको हो।
रौतहटको इशनाथ नगरपालिकाले पत्रकारहरूका लागि उपलब्ध गराएको खाद्यान्न राहत आफूले नराखी सिधै अनाथालयलाई सहयोग गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिए। नेपाल पत्रकार महासंघ रौतहट शाखाका पत्रकारहरुको टोलीले अनाथलयमा नै पुगेर खाद्यान्न सामग्री दिएको कोषाध्यक्ष तिमल्सिनाले बताए।
अनाथालयका संस्थापक बंशिराम जयसवाललाई १५ बोरा भन्दा बढी चामल, दाल, तेल, नुन, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको महासंघका सचिव गौतम श्रेष्ठले बताए। आफूले पाएको राहत खुल्ला हृदयका साथ अनाथालयलाई दिन पाँउदा हर्षित भएको सचिव श्रेष्ठले बताए।
अनाथलयमा खाद्यान्न अभावका कारण समस्या हुँदै आएको गुनासो आएपछि महासंघका केही सञ्चारकर्मीको सहयोगमा उपलब्ध गराएको सचिव श्रेष्ठले बताए। अनाथलयका संस्थापक बंशिराम जयसवालले महासंघले अनाथ बालबालिकाको समस्या बुझेर दिएको खाद्यान्नप्रति खुसी व्यक्त गरे।
कोरोना भाइरसका त्रास फैलिरहेको अवस्थामा सामाजिक दूरी कायम गरेर राहत सामग्री दिइएको थियो। खाद्यान्न वितरणसँगै गरुडामा रहेको अनमिका हस्पिटल प्रालिका सञ्चालक श्रीनारायण साहले नगद ५१ हजार सहयोग गरेका छन्। २०५७ सालमा स्थापना भएको अनाथालयमा हाल ४५ जना बालबालिका बस्दै आएका छन्।