परम्परालाई मान्ने हो भने, इङल्यान्डको स्ट्रार्टफोर्ड अन एभोनमा अप्रिल २३, १५६४ मा सेक्सपियर जन्मिएका थिए । यद्यपी उनको जन्मदिनबारे विवाद छ । चर्चको रेकर्डले २६ अप्रिलमा उनलाई बाप्टाइज गरिएको देखाउँछ ।
सेक्सपियरको निधनको मितिमा भने विवाद छैन । २३ अप्रिल, १६१६ मा ५२ वर्षको उमेरमा ट्रार्टफोर्ड अन एभोनमै उनको निधन भएको थियो ।
सेक्सपियरले स्ट्राटफोर्डस्थित ग्रामर स्कुलमा ल्याटिन र क्लासिकल साहित्य पढेका थिए । उनी विश्वविद्यालय भने गएनन् । बरु, १८ वर्षको उमेरमा एनी हाथावेसँग विवाह गरे ।
१५९० को दशकमा उनी शशक्त नाटककारका रुपमा उदाए । १५९३ सम्म हेनरी चौथोका तीनवटै भाग सेक्सपियरले लेखिसकेको अनुमान गरिन्छ । १५९३ मै सेक्सपियरको ‘भेनस र एडोनिस’ कविता प्रकाशित भइसकेको थियो । १५९६ सम्म सेक्सपियरले रोमियो एन्ड लुजियट, रिचर्ड दोस्रो, अ मिड समर नाइट्स ड्रिमलगायत कालजयी नाटक लेखिसकेका थिए ।
त्यसैगरी १७ औं शताब्दीको सुरुवातमा हेम्लेट तथा बेलायती महारानी एलिजावेथ सार्वजनिक गरे । ओथेलो, म्याकवेथ, द टेम्पेस्टलगायत उनका नाटक अहिलेसम्म पनि उत्तिकै लोकप्रिय छन् । संभवत उनले १५९० मा लेखेका सनेटहरु १६०९ तिर प्रकाशित भएको हुनुपर्छ । यी सनेटमा सुन्दरता तथा प्रेम र कलाको झल्काइएको छ ।
निधनको ४ सय वर्षभन्दा लामो समयपछि पनि उनका नाटकहरु विश्वका धेरै देशमा मञ्चन भइरहेका छन् , पहिलेभन्दा धेरै । सेक्सपियरका समाकालिन महान् कवि तथा नाटककार बेन जोनसोनले भनेका थिए, ‘उनी कुनै युगका होइनन्, सबै समयका हुन् ।’
सेक्सपियरसँगै अर्का महान् स्रस्टा इन्का गार्सिलासो डि ला भेगाको मृत्यु पनि २३ अप्रिलमै भएको थियो । १९९५ देखि युनेस्कोले यही दिन विश्व पुस्तक तथा कपिराइट दिवस मनाउन थाल्यो ।
– १६६१, ब्रिटिस सम्राट चाल्र्स द्वितीयद्वारा लण्डनमा राज्याभिषेक ।
– १९८१, सोभियत संघद्धारा भूमिगत रुपमा परमाणु परीक्षण ।
– १९९२, भारतका चर्चित लेखक तथा सर्वोत्तम फिल्म निर्देशकमध्येका एक सत्यजित रायको निधन ।
१९९५– विश्व पुस्तक दिवस मनाउने काम सुरु ।
२००५– युट्युबमा पहिलो भिडियो अपलोड, यो भिडियो यूट्युबका संस्थापक जावेद करिमको सान डिएगो चिडियाघरको यात्राबारे थियो । १ वर्षभित्रै यस साइटमा झन्डै १० करोड भिडियो अपलोड भइसकेको थियो ।