बारा | बारा जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. २ का कृषक बरकत मियाँले २२ बिगाहामा टमाटर, खुर्सानी, भन्टा, लौका, काँक्रो, बोडी लगायतका तरकारी लगाएका छन् । ऋण लिएर उनले तरकारी खेती गरेका हुन् । २२ बिगाहामा तरकारी खेती गर्न उनले ७० लाख लगानी गरेको दाबी गर्छन् ।
आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा पाँच हजार रुपैयाँ मात्र आम्दनी भएको उनले बताए । कोभिड–१९ बाट बच्न सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी बारीमै कुहिएको मियाँ बताउँछन् ।
तरकारी बिक्री नभएर खेतमै कुहिन थालेपछि लगानी डुब्ने चिन्ताले मियाँलाई सताएको छ । मियाँले उत्पादित तरकारी हेटौंडा, नारायणगढ, भिमफदी लगायतका ठाँउका व्यापारीलाई बेच्ने गर्थे । तर जारी लकडाउनले व्यापारी किन्न नआउँदा अहिले तरकारी बारीमै कुहिएको छ ।
“तरकारी खेतीमा काम गर्न डेढ सय देखि दुई सय मजदुर खटाएको थिए” मियाँले भने “लगानी डुब्ने भइहाल्यो, मजदुरको ज्याला कहाँबाट दिनु !”
उनी जस्तै बाराका थुप्रै कृषकको समस्या यस्तै छ । तरकारी बिक्रीका लागि थोक हाटबजार नलागेको, व्यापारी किन्न नआएको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकको गुनासो छ ।
लकडाउनका बेला सरकारले बिहान–बेलुका कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्री गर्ने वातावरण बनाइदिनुपर्ने कृषकले माग गरेका छन् ।