वैज्ञानिक भन्छन् : कोभिड-१९ दशकौँसम्म मानवजातिमा रहनसक्छ
वीरगंज संजाल
१७ चैत्र २०७६, सोमबार ००:०२
३३२१
काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ वर्षौँसम्म वा दशकौँसम्म मानवजातिमा फैलनसक्ने अनुसन्धानले देखाएको छ ।
विश्वका केही उत्कृष्ट भाइरस विज्ञहरुले गरेको एक नयाँ अनुसन्धान अनुसार कोरोना भाइरस दशकौँसम्म मानवजातिमै रहनसक्ने पत्ता लागेको हो । अमेरिका, बेलायत, र अष्ट्रेलियाका अनुसन्धाताहरुले यसअघि विश्व प्रसिद्ध वैज्ञानिकहरुले सार्वजनिक गरेका तथ्यांकका आधारमा कोरोना भाइरसमा मानव जातिमा रहनसक्ने गुण भएको पत्ता लगाएका हुन् । जनावरबाट मानिसमा सर्नसक्ने गुण पनि कोरोनाभाइरसमा रहेको उनीहरुको दावी छ ।
क्यालिफोर्नियास्थित क्रिप्स रिसर्च इन्स्टिच्युटका क्रिस्चियन एन्डरसन, एडिनबरा युनिभर्सिटीका एन्ड्र्यु राम्बट, कोलम्बिया युनिभर्सिटीका इयान लिपकिन, युनिभर्सिटी अफ सिड्नीका एडवर्ड होल्म्स र तुलान युनिभर्सिटीका रोबर्ट गेरीले तयार पारेको अध्ययनले यस्तो दावी गरेको हो ।
जुन गत मार्च १७ मा ‘नेचर मेडिसिन’ नामको साइन्टिफिक जर्नलमा प्रकाशित भएको थियो । अनुसन्धानमा संलग्न नभएका अमेरिकी नेश्नल इन्स्टिट्युट अफ हेल्थका निर्देशक डा. फ्रान्किस कोलिन्सले उक्त अध्ययनले कोरोना भाइरस जनावरबाट मानवमा सर्नसक्ने सम्भावित अवस्था देखाएको बताएका छन् । साथै यो भाइरस वर्षौँसम्म, सम्भवतः दशकौँसम्म क्रमिक रुपमा विकास हुँदै जाने र बिस्तारै मानवजातिमा गम्भीर अवस्था सिर्जना गर्ने क्षमता प्राप्त गर्ने उनको तर्क छ ।