एक परिवारलाई महिनामा एउटामात्रै सिलिन्डर उपलब्ध हुने
वीरगंज संजाल
१२ चैत्र २०७६, बुधबार ०७:३८
२९५३
काठमाडौं । नेपाल आयल निगमले एक परिवारका लागि एउटा मात्र ग्यास उपलब्ध गराउने गरी आपूर्ति व्यवस्थापनको उपाय निकालेको छ ।
लकडाउनको अवस्थामा आपूर्ति व्यवस्था मिलाउन निगमले एक महिनामा एउटा परिवारले एउटामात्र ग्यास सिलिन्डर किन्न पाउने व्यवस्था गरेको हो ।
जसअनुसार ग्यास डिलर बिक्रेताले ग्यास बिक्री गर्दा मासिक रुपमा ‘एक परिवार एक सिलिन्डर’को प्रक्रिया मिलाई ग्यास बिक्री गनुपर्ने छ । यसका लागि बिक्री गरिएको ग्यास किन्ने उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्छ । निगमले मंगलबार साँझ यस्तो निर्देशन दिएको हो ।
आपुर्तिमन्त्री लेखराज भट्टले बाह्रखरीसँग कुरा गर्दै एउटा परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराउने र असहज परिस्थिति नआओस् भनेर यस्तो निर्देशन दिइएको बताए ।
ग्यास उद्योगहरुले निगमको कार्यालयको पूर्वस्वीकृत लिएर मात्र बिक्री वितरण गर्न पाउनेछन् । उनीहरुले बिक्रेताकहाँ पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनु पर्नेछ ।
ग्यास उद्योगी व्यवसायीले काठमाडौं उपत्यकाको लागि निगम केन्द्रीय कार्यालयबाट, निगमको स्थानीय कार्यालय भएको जिल्लामा स्थानीय कार्यालयबाट वा निगमको कार्यालय नरहेको जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने छ ।
निगमले ग्यास उद्योगहरुलाई डिलरमार्फत् ग्यास बिक्री वितरण गर्नेे कार्य अर्को सूचना नआएसम्मका लागि यस्तो प्रक्रियाबाट मिलाउन निर्देशन दिएको हो ।