बजारमा ग्याँस पाइँदैन, वीरगञ्ज नाकाबाट तीन दिनमा १२८ बुलेट ग्याँस भित्रियो
वीरगंज संजाल
१ चैत्र २०७६, शनिबार १६:२३
७०७१
वीरगञ्ज | कोरोना भाइरसको त्रासले बजारमा खाना पकाउने ग्यासको अभाव देखिए पनि पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १ सय २८ बुलेट ग्याँस नेपाल भित्रिएको छ।बजारमा ग्यासको अभाव देखिए पनि वीरगञ्ज नाकाबाट भने अन्य दिनमा जस्तै सहज रुपमा ग्यास बुलेट आइरहेका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी बिमत साहले जानकारी दिए।
वीरगञ्ज नाका भएर पछिल्लो तीन दिन मंगलबार, बुधबार र बिहीबार १ सय २८ बुलेट ग्याँस नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।वीरगञ्ज भन्सारका अनुसार १ सय २८ वटा बुलेटमा कुल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने ग्याँस भित्रिएको हाे।
साहका अनुसार वीरगञ्ज नाकाबाट दैनिक रुपमा ४२ देखि ४६ वटा ग्याँस बोकेका बुलेटहरु आउने गरेकोमा पछिल्लो तीन दिनमा पनि सोही अनुपातमा ग्याँस बुलेट नेपाल भित्रिएका हुन्।वीरगञ्ज नाका भएर गत जनवरी १ देखि मार्च १२ सम्म कुल पाँच करोड ८५ लाख ६३ हजार ९ सय ३० किलोग्राम खाना पकाउने एलपी ग्याँस आयात भएको भन्सार कार्यालयको तथ्यांक छ।
अवैध असुलीपछि ट्याङ्कर रोकेर व्यवसायी आन्दोलनमा
इन्डियन आयल कर्पोरेशनका प्रतिनिधिहरुले भारतबाट नेपाल भित्रिने टयाङ्कसँग प्रतिट्याङ्कर एक हजार रुपैयाँ असुल्न थालेपछि व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन्। इन्डियन आयल कर्पोरेशनका प्रतिनिधिहरुले भन्सार पास गराएबापत प्रतिट्याङ्कर एक हजार रुपैयाँ लिन थालेपछि व्यावसायहिरु नाकामा ट्याङ्कर रोकेर आन्दोलनमा उत्रिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ वीरगंजका उपाध्यक्ष विनोद मानन्धरले जानकारी दिए।
अवैध असुलीको विरोधमा नेपाल भित्रिनको लागि तयारी अवस्थामा रहेका ७९ वटा ट्याङ्कर नाकामै राकेर आफूहरु आन्दोलनमा उत्रिएको उनले बताए।भारतको बरौनीबाट तेल बोकेर आएका ती ट्याङ्करका चालकसहित व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि नेपाल आयल निगमको क्षेत्रिय कार्यालय वीरगञ्जका प्रमुख रामप्रसाद न्यौपानेसहितको टोली इन्डियन आयल कर्पोरेशनका प्रतिनिधिसँग वार्ता गर्न आईसिपी भन्सारमा पुगेको छ।