छोडेर जानुको रहस्य !
जसरी
पवनको प्रत्येक झोँकाहरूको फूल स्पर्शमा
सुभाषहरुले छाडेर जान्छन्
सल्किएर सूर्तिहरूले धुवाँको सडकमार्गबाट
फिल्टरहरूलाई छाडेर जान्छन्
रूखका हाँगाहरूमा झुलिरहेका पातहरूले
उजाड बनाएर छाडेर जान्छन्
बाँसुरीको प्वालहरूलाई सरगमका नादहरूले छाडेर जान्छन्
पहाडको अस्तित्वलाई पहिरोमा ढुङ्गामाटोले छाडेर जान्छन्
निधारका टीकाहरूलाई अक्षताले छोडेर जान्छन्
यसरी भेटिनु, छुटिनु र परिवर्तन हुनु
जीवन हुन सक्छ
कति चक्रझैं घुम्लान्
कति समानान्तर रेखा होलान् ।
तर याद
गोडाको बूढीऔंलामा दायाँबायाँ पलाएको नङ जस्तै
गढेर चसक्क झस्काउँछ ।
कहिले साथ नछोडेका घाम, आकाश, जल, पवन
र, यो माटोलाई
सोध्ने मन थियो– के हो रहस्य ?
तर मौन छन्
मौनमै प्रश्न खोज्ने अभ्यास गर्दैगर्दा
भेटिन थालेका छन्
केही जबाफ ।
छोडेर जानेहरू केही न केही दिएर जान्छन्
छोडेर जानेहरू केही न केही लिएर आउँछन्
जसरी,
सूर्यास्तले सिङ्गो अँध्यारो छोडेर जाँदा
शीतल जुनताराको आकाशवाटिका दिएर जान्छ
रातभरि प्यासी धर्तीलाई
तिर्खा मेटाउन छोडेर गएका शीतहरूले
बिहानभरि कुहिरोको मसी बनेर
आकाशको क्यानभासमा चित्र कोर्छन् ।
जवानहरूले छोडेको गएको
नुनबिनाको तरकारी जस्तो जीवन
पसिना र रगतले किनेर ल्याउँछ स्वादिलो
प्रिती भोजमय जीवन ।
मुर्झाएर छाडेर गएका फूलहरूले
नयाँ बिज बनेर पुनः वाटिका सजाउँछ ।
जीवित रहनलाई पनि त
छोडेर गएको कार्बोनडाइक्साइडको
रित्तो स्थान पाएपछि मात्र
प्राणवायुले प्राण भर्दो रैछ !
प्रयोग–दुरुपयोग
मालिकले निर्दोष श्रमिकमाथि
निगालोको लौरीले बजाइरह्यो
पातलो छालाई नीलडाम पार्दै
बूढो हड्डीबाट कर्कश सङ्गीत बजुञ्जेल
मालिकले छोडेर गएको निगालोमाथि
श्रमिकले रिस निकाल्यो
अगुल्टोले झोसेर प्वालैप्वाल बनायो
पीडाको सुस्केरा के निकालेको थियो
बाँसुरी बनेर सुमधुर सङ्गीतको सुसेली सुसेल्यो
तमाम चहराएका घाउहरूमा
मल्हमपट्टी लगायो ।
मजदुर निर्दोष भएको खबरले
उता मालिक पश्चात्तापले जागाराम थिए
जब अचानक बाँसुरीको सुरिलो धुन सुने
ध्यानमा लिन भएर भुसुक्कै निदाए ।