नयाँदिल्ली | भारतमा नागरिकता संशोधन कानून (सीएए)विरुद्ध हिंसक प्रदर्शन नरोकिएपछि चाँदबाग क्षेत्रमा मंगलवारदेखि कर्फ्यू लागू गरिएको छ। विद्रोहीले आगजनी र तोडफोड व्यापक बनाएपछि चाँदबाग, करावल नगर, मौजपुर र जाफराबादमा कर्फ्यू लगाइएको हो।दिल्लीका कतिपय ठाउँमा मंगलवार साँझ आगजनी हुन थालेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रहरीलाई बल प्रयोग गर्न आदेश दिएका छन्। पहिला सम्झाउन र अटेरी गरे बल प्रयोग गर्न उनले आदेश दिएका छन्।
हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको छ। दिल्ली प्रहरीका प्रवक्ता मनदीप रन्धावाले हाल स्थिति नियन्त्रणमा रहेको बताएका छन्। उनले हिंसाका लागि ११ जनामाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले भने, ‘हामीले असामाजिक तत्वसँग जोडिएका घटनामा कारबाही शुरु गरेका छौं।’ उनले ५६ जना प्रहरी घाइते भएको जानकारी दिएका छन्। यसैगरी १३० जना सर्वसाधारण घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।उत्तरपूर्वी दिल्लीमा पर्याप्त सुरक्षाकर्मी खटाइएको अधिकारीले बताएका छन्। रन्धावाले अनावश्यक अफवाह फैलाइएकाले त्यसका पछि नलाग्न आग्रह गरेका छन्। सुरक्षाकर्मीले बाक्लो गस्ती गरिरहेका छन्।
ठाउँ ठाउँमा ड्रोनमार्फत निगरानी भइरहेको प्रहरीले बताएको छ। हिंसाग्रस्त इलाकामा लगाइएका सीसीटीभी फुटेजको जाँच भइरहेको छ। दिल्लीको भजनपुरा क्षेत्रमा धारा १४४ लगाइएको छ। दिल्लीमा हिंसात्मक घटना हुन थालेको भन्दै दिल्ली आउने विभिन्न मार्ग बन्द गरिएको छ। यसैबीच अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका अध्यक्ष असदुद्दीन ओवैसीले तत्काल सेना परिचालन गर्ने सुझाव दिएका छन्।