अस्ट्रेलियामा आगो निभाउन गएको विमान दुर्घटना, क्यानबेरा विमानस्थल बन्द
वीरगंज संजाल
९ माघ २०७६, बिहीबार १५:३४
६०८५
अस्ट्रेलियामा फैलिएको डढेलो निभाउन उडेको एउटा विमान दुर्घटनामा परेको छ । एएफपीका अनुसार राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान बिहीबार अस्ट्रेलियाको सिड्नीनजिकै रहेको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
अधिकारीहरुले आगो निभाउन उडेको विमान (एयर वाटर ट्याङ्कर) दुर्घटना परेको पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानको खोजीका लागि केही हेलिकोप्टरहरु परिचालन गरिएको जनाइएको छ ।
बुधबारदेखि तापक्रम बढेसँगै अस्ट्रेलियाका दक्षिण र पूर्वी क्षेत्रमा फेरि डढेलो फैलिएको छ । राजधानी क्यानबेरासँगै न्यू साउथ वेल्स राज्यमा पुनः डढेलो फैलिने क्रम बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।
राजधानी नजिकै ढडेलो फैलिन थालेपछि अस्ट्रेलियाको क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गरिएको छ । आगो फैलिएर विमानस्थल नजिकै आएपछि सबै उडानहरु रद्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
सिड्नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ। सेप्टेम्बरबाट अस्ट्रेलियामा फैलिएको भीषण आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ। झन्डै २ हजार घर ध्वस्त भइसकेको छ।news24