अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा, घाइते जनावरलाई राहत
वीरगंज संजाल
३ माघ २०७६, शुक्रबार ०७:१८
४८५७
वीरगंज | अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसुस गरिएको अधिकारीहरुले बताएका छन् ।
अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परेर कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जनावर पनि जलेर मरेका छन् । न्यु साउथवेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन् ।
‘आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसुस त भएको छ तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन्,’ ग्रामीण अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।
वर्ष कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ कि हुँदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन् । आगलागी हुनुभन्दा अगाडिसम्म दर्जनौँ ठाँउमा आगलागी भइरहेको विवरण अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए ।
स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन् ।