क्रिकेटमा नेपाललाई कांस्य, माल्दिभ्सविरुद्ध ५ विकेटले विजयी
वीरगंज संजाल
२३ मंसिर २०७६, सोमबार १३:२८
४६३७
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फ कांस्य पदकको लागि भएको टि-२० खेलमा नेपाल विजयी भएको छ।नेपालले सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा माल्दिभ्सविरुद्ध ५ विकेटको जित निकालेको हो।
निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गर्दै माल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गर्न गएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको थियो।नेपालले २३ बल बाँकी छँदै जित निकाल्याे। नेपालले १६.१ ओभरमा ९८ रन जोडेको थियो ।
नेपालको जितमा आरिफ शेखले ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२, रोहितकुमार पौडेलले १५, विनोद भण्डारीले १२ र पवन शर्राफले १० रनको योगदान दिए। यस्तै पारस खड्काले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ रन बनाए।माल्दिभ्सका बलरहरु उमर एडकले ३ र लिम शाफेगले १ विकेट नेपालको लिएका थिए।
यसअघि माल्दिभ्सले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो।माल्दिभ्सका ब्याट्सम्यान लिम साफेगले सबैभन्दा बढी १९ रन जोडेका थिए। यसैगरी मोहम्मद रिस्वानले १७, मोहम्मद महफोजले १६, अमेल मौरुफले १३, उमर एडमले ११, अहमद हसनले ६, इब्राहिम रिजानले ३, अजयन फराथले २ र नजवान इस्माइलले २ रनको योगदान दिएका थिए।
माल्दिभ्सविरुद्धको खेलमा नेपालका ललित राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिएका थिए।यसअघि शनिबार भएको खेलमा बंगलादेशसँग ४४ रनले पराजित भएपछि नेपालले क्रिकेटमा स्वर्ण पदक जित्ने सम्भावना समाप्त भएकाे थियाे।